• ३० असार २०८२, सोमबार

भरतपुर अस्पतालमा मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिने

blog

वसन्त पराजुली

नारायणगढ, असार ३० गते । मानसिक रोगको उपचारपछि पुनर्स्थापनासहित जनचेतना बढाउने उद्देश्यले भरतपुर अस्पतालमा राष्ट्रिय मानसिक स्वास्थ्य  केन्द्र स्थापना गरिने भएको छ ।

संयुक्त राज्य अमेरिकामा रहेका मानसिक स्वास्थ्य क्षेत्रका चिकित्सक, परामर्शदाता र जनस्वास्थ्य विज्ञहरुको संस्था 'नेपाल  इन्स्टिच्युट अफ मेन्टल हेल्थ'को सहयोगमा सो केन्द्र स्थापना गरिने भएको हो।

केन्द्र स्थापनाका लागि सोमवार दुवै संस्थाबिच एक आपसमा सम्झौता भएको छ । सम्झौता अनुसार केन्द्र स्थापना गर्दा लाग्ने लगानीमध्ये ५० प्रतिशत नेपाल  इन्स्टिच्युट अफ मेन्टल हेल्थले, २५ प्रतिशत भरतपुर अस्पतालले र बाँकी २५ प्रतिशत विभिन्न दाताहरुसँग सहयोग जुटाउने उल्लेख छ ।

केन्द्र स्थापना गर्न करिब ५ करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ । सम्झौता पत्रमा हस्ताक्षर गर्दै नेपाल  इन्स्टिच्युट अफ मेन्टल हेल्थका कार्यकारी निर्देशक श्रीधर पौडेलले नेपालमा मानसिक स्वास्थलाई केही गर्न पर्छ भन्ने भावनाले आफूहरुले केन्द्र स्थापना गराउन लागेको जानकारी दिनुभयो ।

"नेपालमा मानसिक स्वास्थ्यलाई त्यति प्राथमिकतामा नदेखिएको अवस्थामा हामीले यो काम अगाडि बढायौँ", उहाँले भन्नुभयो ।

केन्द्रले मानसिक स्वास्य समस्यामा परेका बिरामीहरुको उपचारसँगै आवश्यकता अनुसार पुनर्स्थापना र  समुदायमा जनचेतना जगाउने पनि जानकारी दिनुभयो । भरतपुर अस्पतालका अध्यक्ष राजु पौडेलले अस्पतालको विकासमा केन्द्र कोसेढुङ्गा हुने बताउनुभयो ।

चितवन आफैँमा पनि मेडिकल सिटीका रुपमा विकास हुँदै गएको छ । यस्तो अवस्थामा मानसिक रोगका बिरामी उपचार गराउन केन्द्र स्थापना गराउँदै छौं । यसले स्वास्थ्य क्षेत्रको सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले मध्य नेपालमै सबैभन्दा बढी विरामीले उपचार गराई रहेका भरतपुर अस्पतालमा छुट्टै मानसिक स्वास्थ्य उपचार केन्द्र आवश्यक रहेको बताउनुभयो ।

"मानसिक स्वास्थ्य समस्यामा परेका बिरामीलाई अहिलेसम्म विभागवाट सञ्चालन गरिएको थियो अब केन्द्र मार्फत सञ्चालन गरिनेछ", उहाँले भन्नुभयो ।

भरतपुर अस्पतालमा अहिले ट्रमा सेन्टर र स्पाइनल सेन्टर पनि छुट्टै केन्द्रका रुपमा विकास हुँदै छन् । मानसिक स्वास्थ्य उपचार केन्द्रको भवन निर्माणका लागि करिब डेड देखि दुई वर्ष लाग्ने बताइएको छ ।