• ५ मंसिर २०८२, शुक्रबार

युरोपेली चलचित्र महोत्सवमा २५ फिल्म देखाइने

blog

सन्ताेष सुवेदी

कास्की, मङ्सिर ५ गते । पोखरामा १४ औं युरोपेली सङ्घ चलचित्र महोत्सव मङ्सिर ६ र ७ गते हुने भएको छ । क्युएफएक्स ट्रेड मलमा हुने महोत्सवमा युरोपका विख्यात फिल्मकर्मी, बेलायतका बाफ्टा–मनोनित सर्जक तथा उदीयमान नेपाली प्रतिभालाई एउटै मञ्चमा ल्याएर ‘सिनेमा बिना सीमा’ को उत्सव मनाउने तयारी पूरा भएको आयोजकले जनाएको छ । 

महोत्सवमा २५ चलचित्र प्रदर्शन हुनेछन् । जसमा १० युरोपेली फिचर फिल्म, ६ बाफ्टा–छानिएका लघु चलचित्र र ९ नेपाली लघु चलचित्र सामेल रहेको युरोपेली सङ्घको नेपाल प्रतिनिधिमण्डल ईईएएसका प्रेस तथा सूचना अधिकारी विद्या महर्जनले जानकारी गराउनुभयो । उहाँका अनुसार यी फिल्मले पहिचान, प्रतिरोध, स्मृति, आशा र रूपान्तरणजस्ता मानव अनुभूतिमा केन्द्रित कथाहरू मार्मिक रूपमा प्रस्तुत गर्छन् ।

चलचित्र महोत्सवमा पोर्चुगलको बाञ्जो, फिनल्याण्डको जे’भिदा, अस्ट्रियाको ह्याप्पी, हंगेरीको विथआउट एअर, फ्रान्स–इटालीको द गर्ल फ्रम टुमरो, साथै नेदरल्यान्ड्स, आयरल्याण्ड, पोल्याण्ड, स्विट्जरल्यान्ड र रोमानियाबाट समेत उत्कृष्ट फिल्महरू प्रदर्शन हुनेछन् ।

बेलायतका वान्डर टु वोन्डर, रक पेपर सिजर्स, मग्स क्रिसमस, मिल्क, आडिओस र स्टमक बग प्रदर्शन हुनेछन् भने स्थानीय र राष्ट्रिय स्तरमा चयन भएका ९ नेपाली लघु चलचित्र—चिसोघर,अबिस, अर्केस्टा, चाँदनी, इटर्नल किनशिप, ग्राण्डमाज् म्याजिक कोम्ब, साइलेन्ट स्कार्स, द काठमाडौँ र ह्वाट ग्रोज इन थारी माइलाज भेजिटेबल गार्डेन—ले नेपाली कथनशैली र सौन्दर्यशास्त्रलाई उजागर गर्ने उहाँको भनाइ छ ।

उहाँका अनुसार सबै प्रदर्शन निःशुल्क हुनेछन् र सबै फिल्ममा अङ्ग्रेजी सबटाइटल उपलब्ध गराइने बताइएको छ । महोत्सव अघिको चरणमा पनि उद्योग, कला र सिकाइबीचको संवाद बलियो बनाउन कार्यक्रमहरू सञ्चालन गरिनेछ । मङ्सिर ६ गते शनिबार दिउँसो २ बजे ब्रिटिश काउन्सिलको सहकार्यमा ‘चलचित्र उद्योगले अब के गर्ने त?’ शीर्षकमा विशेष छलफल कार्यक्रम हुनेछ । उक्त छलफल कार्यक्रमको वक्ताहरूमा गौ माया गुरुङ, जसु गुरुङ र प्रवीण टक्की कार्कीले स्थानीयदेखि अन्तर्राष्ट्रिय फिल्म उद्योगमा कमाउँदै आएका अनुभव साझा गर्नुहुनेछ । कार्यक्रमको सञ्चालन सुनिर पान्डेले गर्नुहुनेछ ।

यो महोत्सव नेपालस्थित युरोपेली सङ्घको प्रतिनिधिमण्डलले फ्रान्स, जर्मनी, फिनल्याण्ड, अन्य ईयू सदस्य राष्ट्रका दूतावास तथा ब्रिटिस काउन्सिल र युनेस्कोसँग सहकार्यमा आयोजना गरेको हो ।