काठमाडौँ, मङ्सिर ५ गते । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता, समावेशिता, धर्मनिरपेक्षतासहितको लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणमा विस्तृत शान्ति सम्झौताले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ ।
नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी) बीच विस्तृत शान्तिसम्झौता भएको १९ वर्ष पुगेको अवसरमा आज शुभकामना दिँदै संयोजक दाहालले सामाजिक न्याय, सुशासन, आर्थिक समानता तथा समृद्धिका मुद्दा पूरा नभएसम्म जनयुद्ध र शान्ति सम्झौताको मर्म तथा भावना अधुरै रहने बताउनुभयो ।
शान्ति सम्झौताका प्रमुख हस्ताक्षरकर्तामध्ये एक तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाप्रति विशेष स्मरण र सम्मान व्यक्त गर्दै संयोजक दाहालले जीवित हस्ताक्षरकर्ताका रुपमा यस प्रक्रियामा योगदान पु¥याउनु हुने सबैप्रति सम्मान व्यक्त गर्नुभयो । “नयाँ एकीकरण र ध्रुवीकरणवाट बनेको नेपाली कम्युनिष्ट पार्टीले शान्ति सम्झौतामा आफ्नो राजनीतिक स्वामित्व र जिम्मेवारी बहन गर्दै बाँकी कार्यभार पूरा गर्न कटिबद्ध रहने प्रतिबद्धता व्यक्त गर्दछु”, दाहालद्वारा जारी सन्देशमा उल्लेख छ ।
शान्ति सम्झौताको मूल मर्म समानतामूलक, लोककल्याणकारी र भ्रष्टाचारमुुक्त समावेशी गणतन्त्रको स्थापना गर्नु रहेको उल्लेख गर्दै संयोजक दाहालले अहिले ‘जेनजी’ युवा पुस्ताले समेत यही मूल्य, भावना र ‘स्पिरिट’का साथ आवाज उठाइरहेको बताउनुभयो । “शान्ति सम्झौताको आत्माअनुरूप शासकीय प्रणाली, शासन सञ्चालन तथा संविधानको आवश्यक परिमार्जन गर्न सके मात्र युवाको आकाङ्क्षा सम्बोधन हुन सक्छ भन्ने दृढ विश्वास छ”, उहाँले सन्देशमा भन्नुभएको छ ।
पूर्वप्रधानमन्त्री दाहालले विगतको गम्भीर समीक्षा गर्दै वर्तमान नेपाली समाजमा देखापरेका समस्या समाधान गर्न सबै पक्षको एकताबद्ध प्रयासका लागि अपिलसमेत गर्नुभएको छ । उहाँले न्याय, समानता र स्वतन्त्रताका पक्षमा बलिदान गर्ने सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जलीका साथै बेपत्ता योद्धा, घाइते, अपाङ्ग तथा उहाँहरुका परिवारप्रति उच्चसम्मान व्यक्त गर्नुभएको छ । नेपाली समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिक, भाषिक, क्षेत्रीयलगायत सबै प्रकारका उत्पीडनको अन्त्य गर्ने उद्देश्यसहित तत्कालीन माओवादीको नेतृत्वमा सञ्चालित जनयुद्धलाई संस्थागत गर्ने सन्दर्भमा सरकार र विद्रोही पक्षबीच २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौता भएको थियो । रासस