नवराज नेपाली
बागलुङ (गलकोट), मङ्सिर ५ गते । नेपाल पत्रकार महासङ्घ र बागलुङ जेसीजको आयोजनामा बागलुङस्थित सफल चस्मा तथा आँखा क्लिनिकको प्रविधिक सहयोगमा पत्रकारका लागि आँखा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा कम्युटर भिजन सिन्ड्रोमसम्बन्धी सचेतना तथा आँखा जाँच शिविरमा आँखा जोगाउने तरिका र आँखाको सुरक्षाका लागि गर्नुपर्ने सचेतनाबारे जानकारी गराइएको थियो । बागलुङ जेसीजका निर्वतमान अध्यक्ष गणेश महतोले आँखा सुरक्षा तथा भिजन सिन्ड्रोमसम्बन्धी प्रस्तुतीकरणसमेत गर्नुभएको थियो । महतोले हरेक नागरिकले आँखाको ज्योति जोगाउने काममा नियमित परीक्षण गर्न पनि सुझाव दिनुभएको थियो । उहाँले आँखामा आउन सक्ने समस्याबारे बेलैमा सचेत बन्न सकेमा आजीवन ज्योति बचाउन सकिने पनि बताउनुभयो ।
नियमित कम्प्युटर र मोबाइलको स्क्रिनमा काम गर्नुपर्ने पत्रकारले समयमा आँखाको परीक्षण गरेर स्वस्थ बन्न पनि महतोले बताउनुभएको थियो ।
पत्रकारहरुले हरेक दिन घण्टौंसम्म कम्प्युटरमा समाचार लेख्ने, पत्रपत्रिका बनाउने, टेलिभिजन कार्यक्रम बनाउने र समाचार पढ्नेलगायतको काम गर्नुपर्छ । स्क्रिनमा काम गर्दा आँखा सुख्खा हुने र नजिक तथा टाढाको दृष्टि कमजोर बन्न सक्ने खतरा हुने भएकोले पत्रकार नै बढी सचेत बन्नुपर्ने महतोले जानकारी दिनुभएको थियोे ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ बागलुङका अध्यक्ष राम थापा ‘अविरल’, नेपाल जेसीजका राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष सौरभ श्रेष्ठ, बागलुङ जेसीज वर्ष २०२५ का अध्यक्ष सुशान्त कृष्ण श्रेष्ठले कार्यक्रम शुभकामना मन्तव्य राख्नुभएको थियोे । प्रशिक्षण तथा सचेतना कार्यक्रममा ३० जना पत्रकारकाे सहभागिता थियोे ।