• ५ मंसिर २०८२, शुक्रबार

दुई मतदान केन्द्र थप्न सिफारिस

blog

जिल्ला निर्वाचन कार्यालय कालीकोट । तस्बिरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, मङसिर ५ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले दुई वटा मतदान केन्द्र थप गर्न निर्वाचन आयोगमा सिफारिस गरेको छ । 

जिल्लाको खाँडाचक्र नगरपालिका ३ र वडा ८ मा एक–एक मतदान केन्द्र थप गर्न केन्द्रीय निर्वाचन आयोगमा सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालय कालीकोटका कार्यालय प्रमुख बिश्वमंगल शर्माले जानकारी दिनुभयो ।

नयाँ सिफारिस भएका मतदानस्थल वडा ३ को नैनेलदेव आधारभूत बिद्यालय सियालामा १८० मतदाता र वडा ८ को कुलदेव आधारभूत बिद्यालय चिमगाउँ केन्द्रमा १४२ मतदाता रहेका छन । 

भौगोलिक रुपमा टाडा भएकाले यी दुई बिद्यालयमा मतदान केन्द्र राख्नु पर्ने कार्यालयले ठहर गरेकाले केन्द्रीय निर्वाचन आयोगमा सिफारिस गरिएको छ । सिफारिस गरिएका केन्द्र स्वीकृत भएर आएमा कालीकोटको जम्मा मतदान केन्द्र १२५ हुनेछ । मतदानस्थल १०५ हुनेछन् । यसअघि कालीकोटमा मतदान केन्द्र १२३ र मतदानस्थल १०३ रहेका थिए । 

आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न मङ्सिर ५ गतेसम्मको समयसीमा तोकेको छ । कार्यालय प्रमुख शर्माका अनुसार अहिले अनलाइनबाट आफ्नो मतदाता नामावली बनाउन सकिने व्यवस्था रहेकाले जिल्लामा करिब ५५४ जना नयाँ मतदाता थपिएका छन् । तीमध्ये २२८ महिला र ३२६ पुरुष छन् । 

जिल्लामा नयाँ मतदाता थपिनुअघि कूल ८० हजार ७३३ मतदाता रहेका  थिए । जिल्ला निर्वाचन कार्यालय कालीकोटका सूचना अधिकारी धनवहादुर मल्लले अहिले थपिएका ५५४ जनासहित अव कालीकोटमा मतदाता संख्या ८१ हजार २८७ जना पुगेका छन । महिलाको संख्या ४२ हजार ४५६ जना र पुरुष ३८ हजार ८३१ जना  छन । 

निर्वाचन कार्यालयले गत असोजदेखि मतदाता नामावली सङ्कलन गर्दैआएको छ । मतदाता नामावली सङ्कलनको म्याद कात्तिक मसान्तसम्म रहे पनि कोही नछुटुन भनेर पाँच थप गरेको थियो । थपेको समय आज सकिदैछ ।