• ११ असोज २०८१, शुक्रबार

रानी–धरान सडक जथाभाबी खोलिएका ‘क्रस पोइन्ट’ बन्द गरिने

blog

रङ्गेली समाचारदाता

विराटनगर, कात्तिक १ गते । रानी–धरान छ लेन सडकअन्तर्गत विराटनगर–इटहरी खण्डमा डिजाइन स्वीकृत गरिएको बाहेक अन्यत्र खुला गरिएका ‘क्रस पोइन्ट’ बन्द गरिने भएको छ । सडक सुरक्षाका हिसाबले डिभाइडर टुक्राएर जथाभाबी राखिएका ‘क्रस पोइन्ट’ जोखिम देखिएको भन्दै यस्तो स्थानमा डिभाइडर राखिने भएको हो । 

प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आइतबार बसेको बैठकले जथाभाबी खुला गरिएका डिभाइडरले दुर्घटनाको जोखिम बढाएको निष्कर्षसहित बन्द गर्ने निर्णय गरेको मन्त्रालयका सचिव उमेश बस्नेतले जानकारी दिनुभयो । 

बैठकले छ लेनको सडक आयोजनाअन्तर्गतका कार्य गर्न आयोजनाका इन्जिनियर प्रियङ्का झाको संयोजकत्वमा तीन सदस्यीय कार्य सञ्चालन समिति गठन गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव बस्नेतका अनुसार मोरङ ट्राफिक प्रहरी प्रमुख राजकुमार कार्की र विराटनगर महानगरपालिका वातावरण इन्जिनियर सुदीक्षा कार्की समितिका सदस्य हुनुहुन्छ । यसको अनुगमन आन्तरिक मामिला तथा कानुुन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय मोरङले गर्ने सचिव बस्नेतले बताउनुभयो । 

यसैगरी सडकको सरसफाइ, बगैँचा निर्माण, निर्माण भइसकेको बगैँचाको संरक्षण सम्बन्धित सम्पूर्ण कार्य तत्काल सुरु गर्ने, महानगरभित्रको ट्राफिक व्यवस्थापनका लागि बजार र मेन रोड क्षेत्रभित्र सीसी क्यामेरा जडान गर्ने निर्णय गरिएको छ । पार्किङ व्यवस्थापनका लागि महानगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा पार्किङ क्षेत्रको सम्भावना अध्ययन गर्ने निर्णय गरेको छ । 

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कार्कीको संयोजकत्वमा बसेको बैठकमा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटालगायतको उपस्थिति थियो ।