• १३ साउन २०८१, आइतबार

प्रधानमन्त्रीद्वारा शताब्दी पुरुष जोशीप्रति श्रद्धाञ्जलि अर्पण

blog

प्रधानमन्त्री शेरबहादुर देउवा पुल्चोकस्थित ललितपुर महानगरपालिका प्राङ्गणमा राखिएको वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुहुँदै । तस्बिरः चन्द्रकला क्षेत्री/रासस

काठमाडौं, असोज ३० गते । प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । पुल्चोकस्थित ललितपुर महानगरपालिका प्राङ्गणमा राखिएको जोशीको पार्थिव शरीरमा उहाँले श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो । 

 पुरातत्वविद् जोशीप्रति श्रद्धाञ्जलि अर्पण गर्न सभामुख अग्निप्रसाद सापकोटा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री जीवनराम श्रेष्ठ त्यहाँ पुग्नुभएको थियो ।

एक सय तीन वर्षको उमेरमा ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा आइतबार बिहान उहाँको निधन भएको हो । उहाँको पार्थिव शरीर अन्त्येष्टि नगरी अध्ययनका लागि अस्पताललाई हस्तान्तरण गरिने परिवार स्रोतले जनाएको छ ।

उहाँको पार्थिव शरीर महानगरपालिका प्राङ्गणमा अपराह्न ४ बजेसम्म राखिएको थियो । उहाँलाई राज्यकातर्फबाट ‘राष्ट्रिय सम्मान’ प्रदान गरिने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताउनुभयो ।

स्वर्गीय जोशी संस्कृतिविद, लेखक र कुशल अनुसन्धानकर्ता हुनुहुन्थ्यो । नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, सम्वद्र्धन र विकासमा उहाँले महत्वपूर्ण योगदान पु¥याउनु भएको थियो । साहित्यको क्षेत्रमा अतुलनीय योगदान पुर्‍याए वापत तीनपटक सम्म मदन पुरस्कार पाउने नेपालको एक मात्र व्यक्तित्व जोशी प्राचीन र मध्यकालीन नेपालका थुप्रै ऐतिहासिक सामाग्री संरक्षणका लागि जीवनपर्यन्त अनवरत क्रियाशील रहनु भयो ।    

गहिराे दुःख व्यक्त

त्यसैगरी उहाँको निधनप्रति नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै भन्नु भएको छ । “शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीको निधनको खबरले मलाई अत्यन्तै दुःखीत र स्तब्ध बनाएको छ । भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा उहाँले पुर्‍याउनु भएको अतुलनीय योगदान नेपाल र नेपाली जनताले सदैव सम्झिरहनेछन् । उहाँको निधनबाट राष्ट्रले एक युगपुरुषलाई गुमाएको छ । उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।”