• ७ चैत २०८२, शनिबार

विविधताबिचको एकता नै राष्ट्रियताको आधारः मुख्यमन्त्री पाण्डे

blog

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ।

लेखनाथ, चैत ७ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सबै मुस्लिम धर्मावलम्बीमा इद (इद–उल–फित्र)को शुभकामना व्यक्त गर्नुभएको छ । शनिबार शुभकामना सन्देश जारी गर्दै उहाँले विविधताबिचको एकता नै नेपाली राष्ट्रियताको सबल आधार भएको उल्लेख गर्नुभएको छ।

पवित्र रमजान महिनाको उपवास (रोजा) समापनपश्चात इस्लाम धर्मावलम्बीले शव्वाल महिनाको पहिलो दिन इद–उल–फित्र मनाउने गर्छन् । यसपालिको इद शनिबार परेको छ । 

मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश र नेपाल देश नै बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषताले समृद्ध एवम् सुन्दर भएको उल्लेख गर्दै उहाँले विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिका आ–आफ्नै विशिष्ट परम्परा, रीतिरिवाज र चाडपर्व अमूल्य सम्पत्ति भएको जनाउनुभएको छ । 

उहाँले भन्नुभएको छ, “यस पर्वले मुस्लिम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्वद्र्धन र विकासमा टेवा पुर्‍याउनुका साथै गण्डकी प्रदेश सरकारले लिएको आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशवासीको संकल्पलाई अझ सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको छु ।” यो पर्वले आपसी सद्भाव, सहिष्णुता, दिगो शान्ति र भाइचाराको भावना अभिवृद्धि गर्न प्रेरणा मिल्ने उहाँले अपेक्षा गर्नुभएको छ ।