• ३ असार २०८१, सोमबार

राज्यमन्त्री वली प्रहरी नियन्त्रणमा

blog

तुलसीपुरमा महिलामाथि हातपात गरेपछि स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई नियन्त्रणमा लिँदै प्रहरी टोली

लिलाधर वली

घोराही, जेठ ३१ गते । लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दाङको तुलसीपुरमा एक महिलामाथि कुटपिट गरेको भन्दै प्रहरीले मङ्गलबार बिहान राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रञ्जन स्वाँरले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार राज्यमन्त्री वलीले तुलसीपुर उपमहानगरपालिका–५का एकराज बस्नेतकी श्रीमती मीना भण्डारीलाई हातपात गर्नुभएको थियो । घरमै पुगेर उहाँले भण्डारीलाई हातपात गर्दा विवाद भएपछि प्रहरीले राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिएको थियो ।

‘‘स्वास्थ्य राज्यमन्त्रीज्यूले एकराज बस्नेतकी श्रीमती मीना भण्डारीलाई कुटपिट गरेपछि त्यहाँ विवाद भएको रहेछ,’’ प्रहरी निरीक्षक स्वाँरले भन्नुभयो, ‘‘प्रहरीलाई जानकारी आएपछि हामी त्यहाँ पुगेर राज्यमन्त्री वलीलाई लिएर आएका हौँ । अहिले विवादका बारेमा बुझ्ने काम भइरहेको छ ।’’

उहाँका अनुसार राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिएर घटनाबारे सोधपुछको काम भइरहे पनि महिलामाथि किन हातपात गरेको भन्ने विषय यकिनसाथ खुल्न सकेको छैन ।