• २६ वैशाख २०८२, शुक्रबार

हुलाकी सडक अलपत्र, निर्माण व्यवसायीलाई सातदिने सूचना

blog

निर्माणाधीन अवस्थामा रहेको गढवा–कालाकाटे हुलाकी सडक । तस्बिर : लीलाधर वली

घोराही, चैत २८ गते । हुलाकी राजमार्ग अन्तर्गत दाङ खण्डमा काम अलपत्र छोड्ने निर्माण व्यवसायीलाई कारबाही गरिने भएको छ । हुलाकी राजमार्ग योजना निर्देशनालयको कार्यालय नेपालगन्जले सातदिने सूचना जारी गर्दै निर्माण व्यवसायीलाई कारबाही गर्ने प्रक्रिया अघि बढाएको हो । सडक कालोपत्रे गर्नका लागि ठेक्का प्राप्त गरेको निर्माण कम्पनी वज्रगुरु कान्छाराम जेभीले अपेक्षा गरे अनुसार काम नगरेर सडक अलपत्र पारेपछि चैत २५ गते कार्यालयले सात दिनभित्रमा स्पष्टीकरणसहित जवाफ पेस गर्नका लागि सूचना प्रकाशित गरिएको छ । 

उक्त सूचनालाई बेवास्ता गरी सम्पर्कमा नआए ठेक्का प्रक्रिया रद्ध गरी नयाँ निर्माण कम्पनीमार्फत सडक निर्माणको कामलाई अघि बढाउने तयारी रहेको हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगन्जका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिनुभएको छ ।

निर्माण व्यवसायीको लापर्बाहीका कारण हुलाकी सडक अन्तर्गत दाङको गढवा–कालाकाटे सडकखण्ड विगत पाँच वर्षदेखि अलपत्र परेको छ । हुलाकी सडक अन्तर्गत वनघुस्रीदेखि गढवासम्मको २० किलोमिटर सडक तीन वर्षभित्र कालोपत्रे गर्ने गरी ६७ करोड रुपियाँको लागतमा २०७६ कात्तिक २९ गते वज्रगुरु कान्छाराम जेभी ललितपुरसँग ठेक्का सम्झौता भएको थियो । 

ठेक्का सम्झौता अनुसार २०७९ कात्तिकमा सकिनुपर्ने सडक निर्माणको काम दुई पटक गरेर करिब तीन वर्ष म्याद थप गर्दा पनि ४० प्रतिशत मात्र काम भएको हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगन्जका प्रमुख भण्डारीले बताउनुभयो । कार्यालयका अनुसार २० किलोमिटर सडकमध्ये करिब छ किलोमिटर मात्र कालोपत्रे गर्ने काम भएको छ । उहाँका अनुसार करिब नौ किलोमिटरमा बेस निर्माणसहित कालोपत्रेका लागि पहिलो चरणको लेयरको काम भएको छ । ठेक्का सम्झौता मितिमा काम नभएपछि पहिलो पटक २०७९ मङ्सिरमा २०८० साउन १० सम्मलाई म्याद थप गरिएको थियो । मङ्सिरमा काम सुरु गरेको निर्माण व्यवसायीले डेढ किलोमिटर सडक कालोपत्रे गरेर पुनः काम छोड्दा सडक अलपत्र बन्न पुगेको हो । 

निर्माण व्यवसायीलाई काम सम्पन्न गर्नका लागि कार्यालयले पटक पटक ताकिता गर्दा पनि अटेर गरेपछि ठेक्का सम्झौता रद्ध गर्नका लागि प्रक्रिया अघि बढाइएको हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगञ्जका प्रमुख भण्डारीले बताउनुभयो । 

कार्यालय प्रमुख भण्डारीले भन्नुभयो, “हुलाकी सडकको वनघुर्सी–गढवा सडक निर्माणको काममा निर्माण व्यवसायीको चरम लापर्बाही देखिएको छ । अहिलेसम्म आधा काम पनि हुन सकेको छैन ।” निर्माण व्यवसायी सम्पर्कमा नआए ठेक्का तोडेर नयाँ कम्पनीमार्फत सडक निर्माणको काम अघि बढाइने बताउनुभयो । कार्यालय प्रमुख भण्डारीका अनुसार हुलाकी सडक अन्तर्गत पाँच वटा खोलामा पुल निर्माणको काम सन्तोषजनक रूपमा अघि बढे पनि सडक निर्माणमा चरम लापर्बाही भएको प्रमुख भण्डारीले बताउनुभयो । उहाँका अनुसार उक्त सडक निर्माणमा ३९ प्रतिशत वित्तीय प्रगति रहेको छ । 

हुलाकी सडकसँगै ठेक्का लागेको गढवादेखि राजपुरसम्मको करिब २१ किलोमिटर सडक भने निर्माण सकिएको छ । सडक विस्तारसँगै कालोपत्रे गर्नका लागि २०७६ मङ्सिर १ गते ६९ करोड रुपियाँको लागतमा एपेक्स कनकाई खड्का कृष्ण प्रालिसँग ठेक्का सम्झौता भएकोमा २०८० भित्रै निर्माण कम्पनीले काम सम्पन्न गरेको थियो । ठेक्का सम्झौता अनुसार २०७९ सम्पन्न हुनुपर्ने काम नसकिएपछि एक वर्ष थप गरिएको उक्त समयमा काम सम्पन्न भएको हो ।   

Author
लीलाधर वली

उहाँ गोरखापत्र दैनिकको दाङ जिल्लाका लागि घोराही समाचारदाताको रुपमा कार्यरत हुनुहुन्छ ।