राममणि दाहाल
मकवानपुर, वैशाख ४ गते । निर्माण व्यवसायीहरुले पछिल्लो समय पेट्रोलियम पदार्थमा भएको मूल्यपछि निर्माण सामग्रीहरुमा भइरहेको मूल्यवृद्धिसँगै कार्टेलिङले निर्माण उद्योग समस्यामा परेको बताएका छन्।
निर्माण व्यवसायी सङ्घ मकवानपुरले इन्धनमा भएको भारी मूल्यवृद्धि बाहेक हालै सम्पन्न निर्वाचनको मौका पारेर सीमित आयातकर्ताहरुले कार्टेलिङ्ग गर्दै सडक निर्माणमा प्रयोग हुने बिटुमिनको अभाव सिर्जना गर्दा निर्माण व्यवसायीहरुलाई ठुलो आर्थिक समस्या परिरएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
सङ्घले शुक्रबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापनपत्र बुझाउँदै सीमित उद्योगीहरुले मूल्यवृद्धिसँगै निर्माण सामग्रीमा कार्टेलिङ गरी उत्पादनमा समेत कटौती गर्दा भुक्तानी अभावलगायतका समस्या उत्पन्न भई कारण निर्माण व्यवसायीहरु मारमा परेको जनाएको हो ।
सङ्घका अध्यक्ष बालगोपाल कंडेलले निर्माणको कामको भुक्तानी अभाव, निर्माण समाग्री अभाव, मूल्य वृद्धिलगायतका कारण चालु आर्थिक वर्ष २०८२-०८३ भित्र सम्पन्न हुनुपर्ने निर्माण कार्यहरू पुरा गर्न नसकिने, केहीमा सम्झौता हुन बाँकी रहेको र केही योजनाहरूमा काम सुरु गर्नै नसकिने अवस्था हुँदा बजेट फ्रिज हुने जोखिम बढेको बताउनुभयो ।
उहाँले अहिले विषम अवस्थाका कारण निर्माण व्यवसायीहरू अन्योल र मानसिक रुपमा तनाव बेहोरिरहेको भन्दै सरकारले स्पष्ट नीतिसँगै समयमै निर्णय र अभिभावकत्वको अभावमा व्यवसायीहरू अभिभावकविहीन बनेको अनुभूति गरिरहेको बताउनुभयो ।
खुला अर्थतन्त्रको नीति विपरीत गरिएको अव्यवहारिक एवं अवैज्ञानिक मुल्यवृद्धि दण्डनीय अपराध हो ज्ञापनपत्रमा भनिएको छ, सार्वजनिक खरिद ऐन र नियमावली अनुसार प्रत्येक आयोजनाको लागतमा मूल्यवृद्धि भएअनुरुप मूल्य समायोजनको व्यवस्था गर्नुपर्छ ।
बजारमा निर्माण सामग्रीहरुको मुल्यवृद्धि हुने र अर्कोतर्फ राष्ट्र बैङ्कबाट जारीहुने मूल्य सूचकाङ्क वास्तविक नहुने भएकोले मूल्यस्थिर नहुँदासम्मको लागि सरकारले नै निर्माण उद्योगमा आपतकाल घोषणा गर्दै मूल्य समायोजनको व्यवस्था तत्काल लागू गरी निर्माणका आयोजनाहरु सञ्चालन गर्न सरकासँग सङ्घले माग गरेको छ ।
नेपाल आयल निगमबाट निर्माण उद्योगमा अत्यधिक प्रयोग हुने डिजेल, पेट्रोल, मट्टितेल, एलपिजी ग्याँससहितका इन्धन सामाग्रीहरुमा गत चैत्र २ गतेदेखि यता पटक–पटक भएको मूल्यवृद्धिले विकास आयोजनामा प्रयोग हुने निर्माण सामाग्रीहरु र उद्योगजन्य सामाग्रीहरुको मूल्यवृद्धि भएको ज्ञापनपत्रमा उल्लेख छ ।
निर्माण कार्य हुने अहिलेकै समयमा इन्धन सामाग्रीहरुमा भएको भारी मूल्यवृद्धिले निर्माण व्यवसायीहरुलाई ठुलो आर्थिक भार पर्नुका साथै पूर्वाधार खर्च बढ्न गई नेपाल सरकारका निकायहरुलाई नै आर्थिक बोझ थपिने सङ्घ मकवानपुरका प्रजिअ वसन्त अधिकारीलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।
ज्ञापनपत्र बुझ्दै प्रजिअ अधिकारीले निर्माण व्यवसायीलगायत सबै क्षेत्रले अहिले सरकारलाई सहयोग गर्नुपर्ने दायित्व आएको बताउँदै निर्माण व्यवसायीका समस्या समाधानमा सहजीकरण गर्ने बताउनुभयो ।
उहाँले लामो समयदेखि रोकिएका निर्माणका कामहरुलाई तिव्रता दिनसमेत निर्माण व्यवसायीलाई आग्रह गर्दै विभिन्न बहाना देखाएर तोकिएको समयमा काम रोकिएका आयोजनाहरुको अनुगमनको काम भईरहेको बताउनुभयो ।