सिराज खान
नेपालगन्ज, वैशाख ४ गते । लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डेले नेपालगन्जस्थित रंगशाला, कभर्ड हल र स्वीमिङ पूल लगायतका खेलकुदका भौतिक पूर्वाधारको निरिक्षण गर्नुभएको छ ।
निरीक्षणका क्रममा खेलकुद पूर्वाधारको वर्तमान अवस्था, आवश्यक सुधार तथा दीर्घकालीन विकास योजनाबारे विस्तृत छलफल गरिएको साबिक मध्य–पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले बताउनुभयो ।
सो अवसरमा मन्त्री पाण्डेले रंगशालाको खेलमैदान, प्रशिक्षण स्थल, कबर्ड हल, स्वीमिङ पूल तथा अन्य भौतिक संरचनाको अवस्था अवलोकन गर्दै आवश्यक सुधारका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले प्रदेशमा खेलकुद क्षेत्रको समग्र विकासका लागि गुणस्तरीय संरचना निर्माण र प्रभावकारी व्यवस्थापन अत्यावश्यक रहेको जनाउँदै खेलकुद पूर्वाधारको नियमित प्रयोग र संरक्षणमा बिशेष जोड दिनुभयो ।
सो अवसरमा साबिक मध्य–पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको कार्यालय प्रमुख चन्दले कर्मचारी समायोजन हुन नसक्दा खेलकुद क्षेत्रको विकासमा अवरोध पुगेको गुनसो गर्दै खेलकुद क्षेत्रले अझसम्म पनि गणतन्त्रको प्रत्याभूती गर्न नपाएको भन्दै पर्याप्त मात्रामा जनशक्ति नहुँदा खेलकुदको भौतिक पुर्वाधार संरक्षण गर्न कठिनाई भएको दुखेसो मन्त्री समक्ष पोख्नुभयो ।
सो निरिक्षणमा लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेको पनि सहभागिता रहेको थियो ।
उक्त अवसरमा प्रशिक्षण प्रमुख जयन्त श्रेष्ठ, समितीका पुर्ब उपाध्यक्ष नरेन्द्र थापा, प्राविधिक सल्लाहकार फरमान अली सिद्दिकी (सोनु), जिल्ला खेलकुद विकास समिती बाँकेका कार्यालय प्रमुख सन्तोष श्रेष्ठ, क्रिकेट प्रशिक्षक दिपेन्द्र प्रताप सिंह, प्रशिक्षक कृष्ण चौधरी लगायतको उपस्थिति रहेको थियो ।
खुलकुद मन्त्रीको निरीक्षण तथा अनुगमनले प्रदेशस्तरमा खेलकुद पूर्वाधारको विकास, सुधार र प्रभावकारी सञ्चालनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको समितीका पुर्ब उपाध्यक्ष नरेन्द्र थापाले बताउनुभयो ।