• ४ वैशाख २०८३, शुक्रबार

साइबर अपराध र बैंकिङ कसुर बढ्दो

६ महिनामा साढे पाँच हजार मुद्दा दर्ता

blog

फाइल तस्बिर

काठमाडौँ, वैशाख ४ गते । काठमाडौँ उपत्यकामा पछिल्लो छ महिनाको अवधिमा विभिन्न अपराधसँग सम्बन्धित पाँच हजार ५६६ वटा मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले शुक्रबार पत्रकार सम्मेलन गरी २०८२ असोजदेखि हालसम्मको अपराध तथ्याङ्क सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार सो अवधिमा विभिन्न अपराधमा संलग्न चार हजार २७९ जनालाई पक्राउ गरी कानुनी कारबाही अघि बढाइएको छ । परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवन कुमार भट्टराईले जिल्ला प्रहरी परिसरमा अहिले दैनिक ५० देखि ६० वटासम्म विभिन्न प्रकृतिका जाहेरी दर्ता हुने गरेको जानकारी दिनुभयो ।

विभिन्न शीर्षकमा दर्ता भएका मुद्दा

सार्वजनिक तथ्याङ्कअनुसार दर्ता भएका मुद्दामध्ये घरेलु हिंसासँग सम्बन्धित ७२७ वटा रहेका छन् । यस्तै, लैङ्गिक हिंसासम्बन्धी ३१२ वटा ठाडो निवेदन परेका छन् । जबरजस्ती करणी, करणी उद्योग, बहुविवाह, बाल यौन दुव्र्यवहार, मानव बेचबिखन, अप्राकृतिक मैथुन, दाइजो, जातीय छुवाछुत र आत्महत्या दुरुत्साहनसँग सम्बन्धित १९२ वटा मुद्दा दर्ता भएका छन् ।

यसैगरी, लागु औषध नियन्त्रणतर्फ ३३८ मुद्दा दर्ता भएका छन् भने हुन्डी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी १० वटा मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

साइबर अपराधको चुनौती

पछिल्लो समय प्रविधिको प्रयोगसँगै साइबर अपराधका मुद्दाहरू समेत बढ्दै गएका छन् । प्रहरीका अनुसार अनलाइन सपिङ फ्रड (ठगी) सम्बन्धी ९१०, ओटीपी फ्रड १३०, कोठा खोजिदिने बहानामा हुने ठगी २० र अनलाइन रोजगारीका नाममा हुने ठगीका १५ वटा उजुरी परेका छन् । वैदेशिक रोजगारीसँग सम्बन्धित ठगीका ४५ वटा मुद्दा दर्ता भएका छन् ।

यस्तै, २०८२ भदौ २३ र २४ गतेका घटनासँग सम्बन्धित ज्यान सम्बन्धी ४२ वटा मुद्दामा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । भदौ २३ गतेको घटनाका सम्बन्धमा प्राप्त ९ वटा जाहेरी भने जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको निर्णयअनुसार तामेलीमा राखिएको जानकारी पत्रकार सम्मेलनमा दिइयो ।