चन्द्र पन्दाक
ताप्लेजुङ, वैशाख ४ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना गर्दा खोप कार्ड अनिवार्य गरेको छ । नगरपालिकाले विद्यार्थी भर्ना अभियानलाई सफल बनाउन र पूर्ण खोपको सुनिश्चितताका लागि नयाँ भर्ना हुने बालबालिकाको खोप कार्ड खोज्ने नीति लिएको हो ।
पालिका खोप समन्वय समितिका संयोजक एवम् नगरप्रमुख अमिर मादेनले एक सूचना जारी गर्नुहुँदै विद्यालयमा भर्ना हुने नयाँ विद्यार्थीका लागि खोप कार्ड अनिवार्य हुनुपर्ने उल्लेख गर्नुभएको छ । नयाँ शैक्षिक सत्रमा आफ्ना बालबालिकालाई विद्यालय पठाउँदा खोप कार्डसहित उपस्थित हुन नगरप्रमुख मादेनले अभिभावकहरूलाई आग्रह गर्नुभएको छ।
खोप ऐनको कार्यान्वयन राष्ट्रिय खोप कार्यक्रममा सहभागी भई खोप नलिएका बालबालिकाको तथ्याङ्क नजिकको स्वास्थ्य संस्थामा जानकारी गराउनुपर्ने 'खोप ऐन २०७२' मा व्यवस्था गरिएको छ । सोही कानुनी प्रावधानलाई कार्यान्वयन गर्दै नगरपालिकाले विद्यार्थी भर्नाका समयमा खोप कार्डलाई अनिवार्य सर्त बनाएको हो । विशेष गरी पाँच वर्षमुनिका बालबालिका कुनै खोप लगाउनबाट छुटेका भए उनीहरूको पहिचान गरी पुनः खोप लगाउन सहजीकरण गर्ने नगरपालिकाको उद्देश्य रहेको छ ।
तथ्याङ्क सङ्कलनमा सहजता सरकारले नयाँ शैक्षिक सत्रका लागि आगामी वैशाख १५ गतेदेखि देशभर विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । बच्चा जन्मिएदेखि ५९ महिनाभित्र विभिन्न प्रकारका अनिवार्य खोप लगाउनुपर्ने राष्ट्रिय खोप कार्यक्रमको व्यवस्था छ । खोप नलगाएका बालबालिकाको वास्तविक तथ्याङ्क सङ्कलन गर्न र उनीहरूलाई स्वास्थ्य सेवाको दायरामा ल्याउन यो कदम प्रभावकारी हुने नगरपालिकाले जनाएको छ ।