• ४ वैशाख २०८३, शुक्रबार

पाथीभरा मन्दिरको अनियमितता छानबिनमा आलटाल

blog

प्रेम अधिकारी

पशुपतिनगर (इलाम), वैशाख ४ गते । इलामको रोङ गाउँपालिका–३ कुट्टीडाँडास्थित प्रसिद्ध सानो पाथीभरा मन्दिरमा भएको भनिएको अनियमितताको छानबिन प्रक्रिया सुस्त बनेको छ । मन्दिरको पूर्वव्यवस्थापन समितिले सञ्चालन गर्दा देखिएको ८८ लाख रुपियाँभन्दा बढी बेरुजु रकम असुलउपर गर्ने प्रक्रियामा जिल्ला प्रशासन कार्यालयले आलटाल गरेको आरोप लागेको छ ।

मन्दिरलाई गाउँपालिकाको मातहतमा ल्याउनुअघि पाथीभरा मन्दिर संरक्षण संस्थाले सञ्चालन गर्दा आर्थिक अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनका लागि निर्देशन दिएको थियो । सोही आधारमा जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति र प्राविधिक पक्ष हेर्न सडक डिभिजन कार्यालयका इन्जिनियरको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरेको थियो ।

सडक डिभिजन कार्यालयका इन्जिनियर चन्द्रेश्वर शाहको संयोजकत्वमा गठित उपसमितिले काममा चासो नदिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले भन्नुभयो, “धार्मिक संस्थामा दाताले चढाएको भेटीको पारदर्शी हिसाब हुनुपर्छ, तर अनियमितताको स्पष्ट प्रमाण हुँदा पनि प्रशासनले सत्यतथ्य बाहिर ल्याउन ढिलाइ गरिरहेको छ ।”

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले भने उपसमितिलाई सबै जिम्मेवारी दिइएको र काम भइरहेको दाबी गर्नुभयो । उपसमिति संयोजक शाहले कार्यालयको काममा व्यस्त हुनुपरेकाले समय दिन नसकेको स्वीकार गर्दै पुरानो संस्थाले उपलब्ध गराएका कागजात स्पष्ट नभएको बताउनुभयो ।

रोङ गाउँपालिकाले २०७९ सालमा ‘पाथीभरा मन्दिर संरक्षण तथा व्यवस्थापन ऐन’ बनाएर मन्दिरलाई आफ्नो स्वामित्वमा ल्याएपछि विवाद सुरु भएको थियो । जिल्ला प्रशासन कार्यालयको प्रारम्भिक छानबिनले ८८ लाख ८३ हजार १२४ रुपियाँ दाखिला नभएको प्रतिवेदन सार्वजनिक गरेपछि पूर्वसमितिका पदाधिकारीविरुद्ध असुलउपरको प्रक्रिया अघि बढेको थियो ।

यद्यपि, पूर्वसमितिले सफाइको मौका नपाएको भन्दै उच्च अदालत विराटनगरको इलाम इजलासमा मुद्दा दायर गरेको थियो । अदालतले २०८२ असोज २९ गते निवेदकलाई पर्याप्त सफाइको मौका दिन र विशेषज्ञसहितको समिति बनाएर पुनः छानबिन गर्न आदेश दिएको थियो । सोही आदेशानुसार २०८२ मङ्सिर २ गते पुनः समिति गठन गरिए पनि राजनीतिक दबाबका कारण काम अघि बढ्न नसकेको स्थानीयको गुनासो छ ।

गाउँपालिकाले मन्दिर व्यवस्थापन सम्हालेपछि आम्दानी र पारदर्शितामा उल्लेख्य सुधार आएको छ । मन्दिरमा अहिले दैनिक रूपमा अनलाइनमार्फत हिसाब राख्ने गरिएको छ । पालिकाको स्वामित्वमा आएको तीन वर्षमा मन्दिरमा चार करोड ६४ लाख रुपियाँ नगद सङ्कलन भएको छ । त्यस्तै, आठ तोला १२ आना सुन, तीन हजार ५०० ग्राम चाँदी र एक हजार ४० किलोग्राम तामा सङ्कलन भएको गाउँपालिकाले जनाएको छ ।