• ७ मंसिर २०८१, शुक्रबार

साइबर अपराधको जालो

blog

काठमाडौँ उपत्यकाका एक प्रतिष्ठित सञ्चार माध्यममा कार्यरत चर्चित पत्रकार (सम्पादक) फेसबुक, भाइबर तथा ह्वाट्सएप म्यासेन्जरमा आफ्नै नग्न र अश्लील तस्बिर देखेपछि आत्तिँदै प्रहरी कार्यालय पुगे । 

सामाजिक सञ्जालको म्यासेज बक्समा आएको नग्न तस्बिरले सामाजिक प्रतिष्ठामा आँच आउने भन्दै ती पत्रकार प्रहरीलाई विलौना गर्न थाले । भिडियो हेरेपछि प्रहरीले तत्काल अनुसन्धान अघि बढायो ।

अश्लील तस्बिरहरू थप सार्वजनिक हुन नदिन प्रहरीले पीडितका आफन्त तथा सामाजिक सञ्जालमा रहेका साथीहरूलाई फेसबुकलगायतका सामाजिक सञ्जाल ह्याक भएकाले अश्लील फोटो र सन्देश आए नखोल्न आग्रह ग-यो । विक्षिप्त अवस्थामा पुगेका पीडित पत्रकारलाई प्रहरीले सक्दो सहयोग गर्ने भन्दै ढाडस पनि दियो । 

महिलाले कुराकानीका क्रममा यौन उत्तेजक क्रियाकलाप गर्दै क्रमशः शरीरका कपडा खोल्न थालिन् । महिलाको यो क्रियाकलापबाट पत्रकारले समेत शरीरका कपडा एकपछि अर्को गरी खोल्दै गए र निवस्त्र बने । 

प्रहरीले पीडितको फेसबुक बन्द गरी कतैबाट सन्देश आउन नमिल्ने बनाइदियो । अश्लील तस्बिर पठाउने प्रयोगकर्ताबारे प्रहरीले तत्काल सामाजिक सञ्जालको कार्यालयमा रिपोर्ट ग-यो । पत्रकारको अश्लील तस्बिर अन्य सामाजिक सञ्जालबाट बाहिरिन पाएन । अपत्यारिलो र कुनै चलचित्रको पटकथा जस्तो लाग्ने यो घटना गत मङ्सिरमा काठमाडौँमा भएको हो । 

पीडित ती पत्रकारले प्रहरीसँग गरेको कुराकानीअनुसार घटना यस्तो रहेछ– गत मङ्सिरमा उनको सामाजिक सञ्जालमा एक महिलासँग चिनजान भएको रहेछ । ती महिला भारतीय रहेको र फेसबुकमा साथी बनेपछि कुराकानी सुरु भएछ ।

दुईजनाबीच साँझको समयमा भिडियो कलमार्फत कुराकानी हुन्थ्यो । यस क्रममा दुईजनाबीच यौनजन्य कुराकानी सुरु भयो । महिलाले कुराकानीका क्रममा यौन उत्तेजक क्रियाकलाप गर्दै क्रमशः शरीरका कपडा खोल्न थालिन् । महिलाको यो क्रियाकलापबाट पत्रकारले समेत शरीरका कपडा एकपछि अर्को गरी खोल्दै गए र निवस्त्र बने । महिलाले पूर्वयोजनाअनुरूप ती पत्रकारका विभिन्न नग्न तस्बिर र अश्लील भिडियो खिचिरहेकी थिइन् । पत्रकारले यो कुरोे पत्तो पाएनन् । महिलाले भने पत्रकारका परिवारको पनि सम्पूर्ण जानकारी लिइसकेकी थिइन् र सामाजिक सञ्जालमा समेत जोडिन पुगिसकेकी थिइन् ।

त्यसपछि महिलाले रकम माग गर्न थालिन् । माग गरेको रकम उपलब्ध नगराए सामाजिक सञ्जालमा जोडिएका परिवारको एकाउन्टबाट ती पत्रकारको नग्न फोटो र अश्लील भिडियो सार्वजनिक गर्ने भन्दै बार्गेनिङ गर्न थालिन् । महिलाको फन्दामा परेका पत्रकारको अश्लील फोटो प्रहरीको सक्रियताले बाहिर आउनबाट जोगियो । 


०००

लतिलपुरका रश्मिला र प्रेम (नाम परिर्वतन) श्रीमान–श्रीमती हुन । प्रेम विवाह गरेका यो जोडी आर्थिक रूपमा सम्पन्न परिवारका हुन् । रश्मिला काठमाडौँमा नाम चलेको म्यानपावर कम्पनीमा काम गर्थिन् ।  

रश्मिलाले काम गर्ने मेनपावरमा एउटा आकर्षक वैदेशिक रोजगारीको प्रस्ताव आयो । महिनामा झन्डै चार लाख रुपियाँ कमाइ हुने उक्त अवसरमा रश्मिलाले आफ्नै श्रीमान् प्रेमलाई पठाउने निधो गरिन् ।

सम्पन्न परिवारका प्रेम आकर्षक जागिर पाएपछि कतार पुगे । महिनामा झन्डै चार लाख रुपियाँ कमाउने र घरमा पैसा पनि खासै पठाउन नपर्ने भएकाले उनी कतारमै मोजमस्ती गर्न थाले । सामाजिक सञ्जालमा महिला साथी बनाउने, भेट्ने र उनीहरूसँग मोजमस्ती गर्नु नै प्रेमको दिनचर्या बन्न थाल्यो ।

उनले अरू महिला आफूसँग रोमान्स गरिरहेको र नेपालमा रहेकी श्रीमती पनि अरू युवासँग मोजमस्ती गर्न सक्ने भन्दै शङ्का गर्न थाले । नक्कली फेसबुकमार्फत प्रेमले श्रीमती रश्मिलाको चरित्र जाँच गर्ने उद्देश्य बनाए । अनि नक्कली फेसबुकमार्पmत आफ्नै श्रीमतीसँग जोडिए । अनेक कुरा गर्न थाले । विभिन्न प्रलोभन दिन थाले । रश्मिलालाई ती कुरा चित्त बुझेको थिएन । उनले साइबर ब्युरोमा उजुरी दिइन् । 

ब्युरोले रश्मिलासँग कुरा गर्ने फेसबुकको प्रयोगकर्ता को हो भनेर अनुसन्धान गर्दा उनै प्रेमले नक्कली फेसबुकबाट कुरा गर्ने गरेको पत्ता लगायो । ‘शङ्काले लङ्का डढाउँछ’ भनेझैँ उक्त घटनाले उनीहरूबीचको सम्बन्ध टुट्ने अवस्थामा पुग्यो । साइबर अपराध ब्युरोको आवश्यक परामर्शपछि यो जोडीको सम्बन्ध पुरानै अवस्थामा पुगेको छ । 

प्रेमले अरू महिला आफूसँग रोमान्स गरिरहेको र नेपालमा रहेकी श्रीमती पनि अरू युवासँग मोजमस्ती गर्न सक्ने भन्दै शङ्का गर्न थाले । नक्कली फेसबुकमार्फत उनले श्रीमती रश्मिलाको चरित्र जाँच गर्ने उद्देश्य बनाए । अनि नक्कली फेसबुकमार्फत आफ्नै श्रीमतीसँग जोडिए । 


पीडक नजिककै 

काठमाडौँ कीर्तिपुरकी कमला (नाम परिवर्तन) सामान्य शिक्षित गृहणी हुन् । श्रीमान् वैदेशिक रोजगारीमा छन् । नेपालमा छोराछोरीको स्याहारसुसार गर्र्दै आएकी कमलाले मकवानपुर घर भएका पुष्प (नाम परिवर्तन) लाई विगत १० वर्षदेखि भाइ बनाएर आफ्नै घरमा राखेकी थिइन् । पुष्पलाई घरमा बसेको पैसा लिने गरिएको थिएन ।

कमलाले नुहाउने क्रममा एक दिन अनयासै मोबाइलबाट आफ्नै भिडियो खिचिन । सामाजिक सञ्जालको सामान्य प्रयोग गर्ने भए पनि उनलाई प्रविधिबारे त्यति जानकारी थिएन । मोबाइलमा केही समस्या आए वा कुनै नयाँ कुरा पठाउन परे कमलाले भाइ पुष्पका साहारा लिन्थिन् । 

यसै क्रममा कमलाले मोबाइलले खिचेको भिडियो पुष्पले देखेछन् । तुरुन्त आफ्नो फेसबुक म्यासेन्जरमा पठाउँछन् । पुष्पले कमलाको नुहाएको अर्ध नग्न फोटो देखाउँदै रकम माग्न थाल्छन् । पीडित कमला प्रहरी कार्यालय पुग्छिन् ।

अनुसन्धानका क्रममा भाइ बनाएर घरमै राखेका पुष्पले नक्कली फेसबुक खोली कमलासँग पैसाको बार्गेनिङ गरेको खुल्छ । पुष्प अहिले पुर्पक्षका लागि यतिबेला जेलमा छन् ।


०००

काठमाडौँ बूढानीलकण्ठका राजन (नाम परिवर्तन) अटोमाबाइल कम्पनीमा काम गर्थे । अफिसको भेटघाटमा राजनको एक दिन अर्को अटोमोबाइल कम्पनीमा काम गर्ने रूपा (नाम परिवर्तन) सँग भेट हुन्छ । दुवैजना एउटै क्षेत्रमा काम गर्ने भएकाले नजिक हुँदै जान्छन् । सम्बन्ध प्रगाढ बन्दै गएपछि दुवैजना (लिभिङ टुगेदर) सँगै बस्ने निर्णयमा पुग्छन् । 

रूपा आर्थिक रूपमा सम्पन्न नेवार परिवारकी थिइन् । सँगै बस्ने क्रममा राजन र रूपाबीच अन्तरङ्ग कुराकानी हुनु स्वाभाविकै हो । राजनले रूपासँग बिताएका विभिन्न भिडियो मोबाइलमा खिचेका थिए । 

‘लिभिङ टुगेदर’लाई विवाहमा रूपान्तरण गर्ने योजनामा रहेकी रूपाको फेसबुक म्यासेन्जरमा नग्न तथा अश्लील तस्बिर एकपछि अर्को गरी आउन थाले ।  फोटो र भिडियो देखाएर रूपासँग पैसाको बार्गेनिङ हुन थाल्यो । सामाजिक प्रतिष्ठा जोगाउन रूपाले ४५ लाख दिन तयार भइन् । ७० लाख नभए तस्बिर सार्वजनिक गर्ने धम्कीबाट सामाजिक सञ्जाल प्रयोगकर्ता पछाडि हटेन । ७० लाख रुपियाँ रूपासँग थिएन । उनले यसबारे नजिकको साथीलाई बेलिविस्तार लगाइन् साथीको सल्लाहअनुसार उनी प्रहरीकहाँ पुगिन् । अनुसन्धानका क्रममा नक्कली फेसबुकबाट रकम बार्गेनिक व्यक्ति ‘लिभिङ टुगेदर’मा बसेका राजन रहेको खुल्यो । साइबर अपराधको कसुरमा राजन पनि यतिबेला जेलमा सजाय भोगिरहेका छन् ।


०००

सामाजिक सञ्जालबाट युवतीलाई अश्लील फोटो र भिडियो पठाएर हैरानी पु-याएको आरोपमा गत हप्ता नेपाल प्रहरीका जवान कृष्णकुमार यादव पक्राउ परे । रौतहट भवानीपुर गाउँपालिका–४ का यादव धनुषाको बटेश्वर प्रहरी चौकीमा कार्यरत थिए ।यादवले कक्षा १२ मा अध्यनरत एक युवतीसँग सामाजिक सञ्जालमा साथी बनेपछि म्यासेज, च्याट तथा भिडियोबाट कुराकानी गर्न थाले । 

मधेशी समुदायकी ती युवतीसँग यादव नजिक हुन खोजिरहेका थिए । कुराकानीका क्रममा यादवले युवतीसँगका विभिन्न अन्तरङ्गको रेकर्ड गरेका रहेछन् । युवती यादवसँग टाढा हुन थालिन् । यादवले प्रतिशोध साँध्ने उद्देश्यले नक्कली फेसबुक, ह्वाट्सएप तथा भाइबरमार्फत युवतीसँगका अन्तरङ्ग सामाजिक सञ्जालमा सार्वजनिक गर्न थाले । युवतीलाई विभिन्न प्रलोभनमा पारी तयार गरिएका कुराकानी र अश्लील तस्बिरहरू यादवले युवतीका साथी र आफन्तलाई पठाउन थाले ।  

साइबर अपराध ब्युरोले यादवलाई पक्राउ गरी विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा युवतीलाई धम्की दिई मानसिक तनाव तथा दुःख दिई समाजमा बेइज्जत गर्ने कार्य गरेको आरोपमा अनुसन्धान गरिरहेको छ । 

शिक्षित नै ठगिन्छन् 

काठमाडौँका एक परिचित प्राध्यापकको इमेलमा एउटा सूचना आयो । उक्त इमेलमा प्रध्यापकले लामो समय अध्यापन गराउँदै आएको विषयसँग काम गर्नेबारे विस्तृत कार्य योजना (डिटेल पोजेक्ट रिर्पोट) नै तयार गरी पठाइएको थियो ।

नेपालमा पहिलो पटक सुरु गर्ने भनिएको उक्त डिपीआर आकर्षक कार्ययोजनासहितको थियो । परिचित प्राध्यापकलाई योजना प्रमुख बन्न गरिएको आग्रहलाई तुरुन्तै शङ्का गर्ने अवस्था थिएन ।

आकर्षक सेवासुविधासहित योजना अघि बढाउने प्रस्तावले प्रध्यापकलाई लोभ्यायो । योजना अघि बढ्ने भयो । त्यसलगत्तै इमेलमा अर्को सन्देश आयो र त्यसमा योजनालाई आवश्यक रकम पठाउने र करवापतको रकम प्राध्यापकले तिर्नुपर्ने उल्लेख थियो ।

नेपालमा नौलो काम गर्ने योजनामा रहेका प्राध्यापकले करवापतको रकम पठाउन राजी भए । तीन लाख रुपियाँ सम्बन्धित खातामा पठाएपछि प्राध्यापकले शङ्का लागेर प्रहरीलाई खबर गरे । प्रहरीले तत्काल तीन लाख रुपियाँ पठाएको बैङ्क खाता बन्द गरी अनुसन्धान सुरु ग-यो । अन्तत उक्त इमेल सन्देश रकम ठगी गर्ने उद्देश्यले पठाएको खुल्यो ।


०००

उच्च शिक्षाका लागि अमेरिका उड्न भिषा लिएर बसेकी काठमाडौँ नयाँबजारकी २२ वर्षीया कल्पना (नाम परिवर्तन) लाई ह्वाट्सएपमा चिठ्ठा परेको सन्देश आयो । 

नभरेको चिठ्ठाको प्रलोभनमा कल्पनाले करवापत भनिएको ८० हजार रुपियाँ अपरिचित व्यक्तिलाई पठाइन् । लाखौँ रकम पाउने लोभमा बैङ्क खातामा रहेको नौ लाख रुपियाँ निकाल्न उनले अपरिचित व्यक्तिलाई मोबाइल बैङ्किङको पासवर्डसमेत बुझाइन् । रकम पाएपछि ती अपरिचित व्यक्ति  सम्पर्कविहीन बने ।

चिठ्ठाको प्रलोभनमा ठगिएको भन्दै कल्पना तत्काल प्रहरी कार्यालय पुगिन् । ८० हजार रुपियाँ ठगिएपछि प्रहरीको सक्रियताले बैङ्क खातामा रहेको नौ लाख लुटिन पाएन । 

विद्यावारिधि उपाधि प्राप्त त्रिभुवन विश्वविद्यालयमा अध्यापन गर्ने सन्तोष (नाम परिवर्तित) समेत यसरी ठगिएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका निर्देशक केदार (नाम परिवर्तन) ले पनि झुटो सन्देशकै भरमा नचिनेका व्यक्तिलाई बैङ्कबाट एक लाख रुपियाँ पठाए ।

शिक्षित र बौद्धिकको रूपमा परिचित व्यक्ति र अनुसन्धानमा खटिने प्रहरीसमेत सामाजिक सञ्जालको फन्दामा परेका यी प्रतिनिधि घटना हुन । जनचेतनाको कमी तथा सामाजिक सञ्जालको जानेर वा अन्जानवश गरिएको दुरूपयोगबाट बर्सेनि हजारौँ युवा प्रताडित भएका छन् । 

नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार फेसबुक, भाइबर, इमो, ह्वाट्सएप, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालको दुरूपयोगबाट गत वर्ष मात्र तीन हजार नौ सयभन्दा बढी पीडित बनेका थिए । 

आर्थिक वर्ष २०७५/७६ मा ३५७ जना, आव ०७६/७७ मा दुई हजार ३०१ र ०७७/७८ मा तीन हजार ९०६ तथा २०७८/७९ को नौ महिनामा मात्र तीन हजार ७०७ जना पीडित बनेका छन् । ब्युरोको तथ्याङ्कअनुसार सबैभन्दा बढी महिला तथा किशोरी सामाजिक सञ्जाल दुरूपयोगको शिकार बनेका छन् । 

जनचेतना कमजोर 

नेपालमा सामाजिक सञ्जालको प्रयोग बढ्दो छ । अधिकांशका हातमा स्मार्ट फोन छ । प्रायः मानिस सामाजिक सञ्जालबाट अछूतो रहन सकेका छैनन् । सामाजिक सञ्जालको सही प्रयोग गर्न नजान्दा पछिल्लो समय साइबर अपराधका घटना गुणात्मक रूपमा वृद्धि हुँदैछ । 

साइबर अपराधविज्ञ तथा पूर्वप्रहरी नायब महानिरीक्षक विकास श्रेष्ठ सामाजिक सञ्जालबाट हुने अपराध न्यूनीकरण गर्ने प्रभावकारी माध्यम जनचेनता नै रहेको बताउनुहुन्छ ।

प्रविधिको विकाससँगै सामाजिक सञ्जालको प्रयोग बढ्यो । यससँगै अपराधका घटना पनि बढेको बताउँदै उहाँले यसको दुरूपयोगलाई रोक्न तथा आफ्ना बालबालिकालाई यसको सिकार हुनबाट जोगाउन अभिभावकहरू बढी सचेत हुनु आवश्यक रहेको औँल्याउनुभयो ।

सामाजिक सञ्जालको प्रयोग बढ्दै गए पनि नेपालमा यसको अनुगमन पक्ष भने निकै कमजोर छ । सामाजिक सञ्जालका शाखा कार्यालय नेपालमा नहुँदा कतिपय उजुरी महिनौँसम्म अनुसन्धान हुन सकेका छैनन् । कतिपय उजुरी तत्काल समाधान गर्नुपर्ने भए पनि लामो समय उजुरीसम्म दर्ता नहुने अवस्था छ । गम्भीर प्रकृतिका अपराधको अनुसन्धान गर्नुपरेमा समेत सूचना प्राप्त हुन महिनौँ लाग्ने अवस्था छ ।

सामाजिक सञ्जालको दुरूपयोगबाट बच्न जनचेतना उत्तम उपाय भए पनि यसको प्रचार प्रसार प्रभावकारी रूपमा हुन सकेको छैन । प्रहरी प्रधान कार्यालय मातहतको साइबर ब्युरो सङ्घीय संरचनाअनुरूप सातै प्रदेशमा विस्तार गर्नुपर्ने आवश्यकता छ ।

साइबर ब्युरोका निमित्त प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्याल सामाजिक सञ्जालमार्फत पछिल्लो समय ‘रिभेन्ज पोर्न’ तथा पार्सलका नाममा ठगी बढेको बताउँनुहुन्छ । अर्यालले भन्नुभयो, ‘‘पार्सलको लोभमा कतिपय कलेजमा पढ्ने युवा ठगिने घटना बढेका छन् । यसलाई रोक्ने सबै पक्षबाट जनचेतला फैलाउनुपर्ने आवश्यक छ ।’’ उहाँले नेपालमा सञ्चालित अनलाइन भुक्तानीको दुरूपयोग बढेकाले त्यसतर्फ निगरानी बढाइएको समेत जानकारी दिनुभयो ।

साइबर ब्युरोले अपरिचित व्यक्तिसँग सामाजिक सञ्जालमा साथी बन्ने र  प्रलोभनमा फस्ने गरेका कारण साइबर अपराधका घटना दैनिक बढेको जनाएको छ । न्यूनीकरणका लागि ब्युरोले विभिन्न प्रकारका जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

विदेशबाट आएका अपरिचित सन्देश विश्वास नर्गन तथा सामाजिक सञ्जालको प्रयोगलाई हेलचेक्य्राइँ नगर्नसमेत ब्युरोले आग्रह गरेको छ । पछिल्लो समय आपराधिक पृष्ठभूमिका व्यक्तिहरूबाट साइबर अपराध बढ्दै गएको र ह्वाट्सएप तथा भाइबरबाट आउने प्लस ९१, ९२, ९६ का कलहरू नउठाउनसमेत ब्युरोले आग्रह गरेको छ ।