• १३ साउन २०८१, आइतबार

कङ्गनाको भरपुर एक्सन धाकड

blog

सुकृत नेपाल

काठमाडौँ, जेठ ११ गते । बलिउडको एक्सन चलचित्रहरूमा प्रायः नायक नै हाबी भएको देखिन्छ । ती चलचित्रहरूले बक्स अफिसमा तहल्का मच्चइरहेका हुन्छन् । तर यसपटक बलिउडमा नायिकाले पनि एक्सनको दृश्य गर्न सक्छिन्् भन्ने चलचित्र ‘धाकड’ले प्रमाणित गरिदिएको छ । चलचित्रमा देखाइएका एम्बुसका दृश्यहरूमा नायिका खलपात्रहरूसँग भिडन्त गरिरहेको देखाइएको छ । जुन चलचित्रको मुख्य आकर्षण हो ।

चलचित्रको पहिलो दृश्य नै अन्तर्राष्ट्रिय टास्क फोर्स एजेन्ट अग्नि कङ्गना रनावतको साहसिक एक्सन दृश्यबाट सुरु हुन्छ । उनको काम भनेको तस्करीमा परेका केटीहरूको रक्षा गर्नु हो । यता अग्निलाई उनको बाल्यकालमा भएको तीतो र डरलाग्दो सत्यले सताइरहन्छ । उनको बाल्यकालमा उनको आमाबुबाको हत्या गरिएको हुन्छ । त्यो घटनाबाट उनी पर हुन सक्दिनन् । उनी आमाबुबाविहीन बनेपछि उनलाई अन्तर्राष्ट्रिय टास्क फोर्स एजेन्टका प्रमुख (शाश्वत चटर्जी) ले आफ्नै छोरी जस्तै बनाएर हुर्काएका हुन्छन् । उनलाई पनि कसैसँग नडराउने निडर जासुस बनाउँछन् ।

एसियाकै सबैभन्दा ठूलो मानव तस्कर तथा कोइला माफियाको किङ्गपिङ रुद्रवीर (अर्जुन रामपाल) लाई समात्नका लागि अग्निलाई भारत पठाइन्छ । यस सङ्गठनको तार भारतको कोइलाखानीसँग सम्बन्धित छ । रुद्रवीर विगत १० वर्षदेखि गुप्तचर निकायको हातबाट भागिरहेका हुन्छन् । रुद्रवीरसँग उनको साथी या भनौँ उनको प्रेमिका रोहिणी (दिव्या दत्त) पनि छिन् । राहिणी पनि रुद्रवीर जस्तै निर्दयी छिन् । उनलाई कसैको मतलब छैन । उनलाई केवल पैसा भए पुग्छ ।

अग्निलाई रुद्रवीरलाई समात्नका लागि उनका अफिसर फजल (सरिब हास्मी) ले मद्दत गर्छन् । फजलको छोरी जायराको (दिसिता जैन) को अग्निसँग मित्रता हुन्छन् । अग्नि आफू पनि बाल्य अवस्थामा जायरा जस्तै भएको हुनाले उनलाई धेरै मन पराउँछिन् ।

रुद्रवीरको खोजीमा हिँडेकी अग्निले धेरै पटक धोका खाइसकेकी हुन्छिन् । तर उनले कहिले हार मानेकी हुन्नन् । एकपटक आफू घाइते भइसकेपछि पनि हार नमानेर अग्नि पुन रुद्रवीरलाई समात्न मैदानमा फेरि उत्रन्छिन् । के अग्नि रुद्रवीरलाई पक्रन सफल हुन्छिन् ? के उनी आफ्नो आमाबुबाको हत्यारा को हो भनेर पत्ता लगाउन सफल हुन्छिन् ? ‘धाकड’ यही कथाको वरिपरि घुमेको चलचित्र हो । नवोदित निर्देशक रजनीश रेजी घईले चलचित्र ‘धाकड’ हलिउडको शैलीमा बनाउने कोसिस गरेका छन् ।

उनले सोहीअनुसारका एक्सन दृश्यहरू चलचित्रमा प्रयोग गरेका छन् । निर्देशकले रुद्रवीर, रोहिणी र अग्निको विगतलाई कालो र सेतोमा शैलीमा चित्रण गर्न खोजेका छन् । चलचित्रका धेरै दृश्यलाई छायाँकारले खरानी रङमा पोत्न खोजेका छन् । कथा बुल्गेरियाको बुडापेस्टदेखि भारतसम्म खिचिएको छ । चलचित्रको सिनेम्याटोग्राफीले सबै सहरलाई समेटेको छ ।

चलचित्रमा धेरै लामो एक्सन दृश्यहरू छन् तर एक्सनले मात्र चलचित्रलाई उत्कृष्ट बनाउन सक्दैन । यसमा पनि बलियो कथाको आवश्यकता हुन्छ । रजनिश रेजी घई र रेनिश रवीन्द्र र चिन्तन गान्धीले लेखेका कथा कमजोर छन् । चलचित्रमा मानव बेचबिखन, युवतीसँगको यौनसम्बन्धलाई सतही रूपमा देखाइएको छ । अग्निका आमाबुबालाई मार्नुको कारण अचम्मको कुरा होइन । चलचित्रमा रितेश शाहले लेखेका संवाद खासै प्रभावकारी छैन ।

कङ्गनाले चलचित्रमा बन्दुक, तरवार, खंजर, हावापानीमार्फत धेरै एक्सनका दृश्य दिने मौका पाएकी छिन् । चलचित्रमा उनको मिहिनेत प्रस्ट झल्कन्छ । अर्जुन रामपालले आफ्नो पात्रलाई पूर्ण निर्ममताका साथ निभाएका छन् । तर उनीहरूको हाउभाउ र बोल्ने शैली चलचित्रलाई मिल्ने खालको देखिँदैन । दिव्या दत्ताको अभिनय औसत छ । चलचित्रमा दत्ताले आफ्नो बलियो उपस्थिति महसुस गराउँछिन् ।

एजेन्सी प्रमुखको भूमिकामा देखिएका शाश्वत चटर्जीको अभिनय निकै सहज देखिन्छ । धाकड मुख्यतया कङ्गना रनावतको कथा वरिपरि घुमेको चलचित्र हो । कङ्गनाले लेखक–निर्देशकबाट पाएको अवसरको राम्रो सदुपयोग गरेकी छिन् । उनले अग्निको बाध्यता र बहादुरीका सबै आयामलाई गम्भीरताका साथ देखाएकी छन् । तर शीर्षकअनुसार चलचित्र पूर्ण रूपमा सफल भने हुन सकेन । एक्सन दृश्य रुचाउने दर्शकले भने चलचित्रलाई अवश्य नै रुचाउनेछन् ।