• ५ मंसिर २०८२, शुक्रबार

पाख्रिवासमा हाइस दुर्घटना : एक जनाको मृत्यु, दुई गम्भीर

blog

धनकुटाको पाख्रिबास नगरपालिका–५ भैंसेमा भएको दुर्घटना

कविराज घिमिरे 
हिले, मङ्सिर ५ गते ।
धनकुटाको पाख्रिवासमा भएको दुःखद दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । मृत्यु हुनेमा संखुवासभा सभापोखरी–२ की ८२ वर्षीया सावित्रा कालाखेती रहनुभएको छ ।

उहाँको उपचारका क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको हो । पाख्रिबास नगरपालिका–५ भैँसेस्थित मध्यपहाडी लोकमार्गमा काठमाडौँबाट खाँदबारीतर्फ आउँदै गरेको बा ४ ख ५५०२ नम्बरको सप्तकोशी कम्पानीको हाइस माइक्रो अनियन्त्रित भई दुर्घटना भएको हो ।

माइक्रो सडकबाट करिब ७० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनापछि घटनास्थलमा ईलाका प्रहरी कार्यालय पाख्रिबासका प्रवक्त नारायणप्रसाद भट्टराईको कमाण्डमा प्रहरी टोली पुगेर घाइतेहरूको उद्धार गरेको थियो ।

उद्धार गरिएका सबै घाइतेहरूलाई विभिन्न सवारीसाधनमार्फत जिल्ला अस्पताल धनकुटा पुर्‍याइएको जिल्ला प्रहरी कार्यलय धनकुटाका सूचना अधिकारी डिएसपी राजन कार्कीले जानकारी दिनुभयो । घाइते हुनेमा धनकुटा महालक्ष्मी–३ प्रहरी जवान सुजता गिरी, संखुवासभा सिलिचुङ–३ को सगीता राई र नरेन्द्र राई, संखुवासभा पाँचखपन–९ का लमु शेर्पा, उदयपुर लिम्चुङबुङ–१ का निर्जला राई र बिनिता राई जेसन राई रहनुभएको छ । त्यस्तै, सिन्धुलीका सन्तबहादुर तामाङ, भोजपुर साप्लासिलिचुङ–५ पासाङ शेर्पा, खाँदबारी–७ का रत्नबहादुर विक र सबारी चालक दिपेन्द्र बुढाथोकी हुनुहुन्छ ।

गम्भीर घाइते चालक दिपेन्द्र बुढाथोकी र रत्नबहादुर विकलाई जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, घोपामा रेफर गरिएको छ । दुर्घटनाको कारण खुलेको छैन भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस