• ४ मंसिर २०८२, बिहिबार

सेलिब्रेटीको ‘एनपिएल’ क्रेज

blog

काठमाडौँ, मङ्सिर ३ गते । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण सोमबारबाट चलिरहेको छ । प्रतियोगिताले क्रिकेटप्रेमीका साथै नेपाली कलाकारहरूमा पनि छुट्टै रौनक छाएको छ । केही कलाकारले मैदानमा पुगेर आफूले समर्थन गरिरहेको क्लबलाई समर्थन गरिरहेका छन् भने केहीले चलचित्रको छायाङ्कन सेटबाटै सामाजिक सञ्जालमार्फत सपोर्ट गरिरहेका छन् । दर्शकलाई खेलमा आकर्षित गर्न केही टिमले अग्रजदेखि चर्चित कलाकारलाई ब्रान्ड एम्बेसडर, फेस अफ किङ, भ्वाइस अफ टिमका उपनामले भित्र्याएका छन् ।

गायिका रचना रिमालले टिम विराटनगर किङ्ग्सलाई समर्थन गरिरहेकी छन् । रचनालाई टिमले ‘फेस अफ विराटनगर किङ्ग्स’ घोषणा गरेको थियो । गायिका रिमालको खेलप्रतिको उत्साह पनि उत्तिक्कै छ ।

अभिनेतृ तथा मोडेल नीति शाहले ‘चितवन राइनोज’ क्लबलाई रङ्गशालामा पुगेर समर्थन गर्नुभएको थियो । उहाँले नीति लेखिएको ११ नम्बरको जर्सी लगाएर चितवन राइनोजको झन्डा फहराउनुभएको थियो ।

अभिनेता दयाहाङ राई मुस्ताङमा चलचित्र ‘कबड्डी ५’ को छायाङ्कनमा व्यस्त हुनुहुन्छ । उहाँले छायाङ्कन सेटबाट सामाजिक सञ्जालमार्फत ‘विराटनगर किङ्ग्स’ को जर्सी लगाएर आफ्नो क्लबलाई समर्थन जनाउनुभएको छ ।

‘आजबाट नेपाल प्रिमियर लिग एनपिएल सुरु हुँदै छ । सम्पूर्ण टिम तथा खेलाडीलाई सफलताको शुभकामना । सभ्य होस्, भव्य रहोस् । हामी समर्थक यसै खुसी । मचाहिँ विरानटगर किङ्ग्सको सपोर्ट गरिराछु है...’ उहाँले लेख्नुभएको छ । साथै कलाकार राईले ‘विराटनगर किङ्ग्स’ निरन्तर सुन्दर खेल खेल्नेमा अपेक्षा गरेको बताउनुभएको छ । 

यस्तै कलाकार सन्दीप क्षेत्रीले पोखरा एभेन्जर्सको प्रवर्धन गरिरहनुभएको छ । उहाँले ‘यही नै हो हाम्रो सान मैदानमा’ भनेर समर्थन जनाउनुभएको छ । लोकरक ब्यान्ड नेपथ्यले हालै पोखरा रङ्गशालामा पोखरा एभेन्जर्स क्लबको प्रवर्धनमा कन्सर्ट गरेको थियो । कलाकार विजय बरालले एनपिएलको सबै टिमलाई शुभकामना दिनुहुँदै । यो भनेको एउटा चाडपर्व जस्तो भएको बताउनुभयो । उहाँले एनपिएललाई ‘द फेस्टिभ अफ हिमालयाज्’ को सङ्ज्ञा दिनुभयो । 

गायक युवराज चौलागाईंका अनुसार, एनपिएल भनेको नेपालको सान, उत्साह, उमग र भरोसा हो । उहाँले यसको त्यसको पक्षभन्दा पनि आफू जित्ने हा¥ने दुवैको पक्षमा भएको बताउनुभयो । नेपालमा एनपिएल हुनु नै खुसी र गर्व गर्ने कुरा हो, उहाँको भनाइ छ । खेलमा जित हार त जसको पनि हुन्छ । 

एनपिएलको सिङ्गल राउन्ड रोबिन, इलिमिनेटर र क्वालिफायर हुँदै मङ्सिर २७ गते उपाधि भिडन्त हुने छ । यस पटक कुल ३२ खेल हुने छन् । विगतकै टिमहरू च्याम्पियन जनकपुर बोल्ट्स, गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्ग्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्ने छन् ।