• ५ मंसिर २०८२, शुक्रबार

एमालेमा फर्कनेलाई पहिलेकै हैसियत

blog

गोरखापत्र समाचारदाता 

ललितपुर, मङ्सिर ५ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बैठकले ‘घर फर्क अभियान’ अन्तर्गत पार्टीमा आएका नेताहरूलाई महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले विगतमा एमाले छाडेका तर पछिल्लो समय पार्टीमा फर्किएका नेताहरूलाई प्रतिनिधि बनाउने निर्णय गरेको हो । 

एमालेमा फर्किनुभन्दा पहिले तत् अवस्थामा केन्द्रीय समितिमा रहेकाहरूलाई प्रतिनिधि बनाइने छ । बैठकलाई सम्बोधन गर्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले ११ औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन आग्रह गर्नुभएको थियो । 

अध्यक्ष ओलीले सचिवालय बैठकमा पार्टी पङ्क्ति र देशले एकताको महाधिवेशन चाहेको धारणा राखेको जानकारी दिँदै उपमहासचिव प्रदीप ज्ञवालीले भन्नुभयो, “कसैले प्रतिस्पर्धा गर्नुहुन्छ भने पनि स्वस्थ प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने कुरा बैठकमा छलफल भएको छ ।”

एमालेको ११ औँ महाधिवेशन मङ्सिर २७ देखि २९ सम्म काठमाडौँमा हुँदै छ । बैठकले ११ औँ महाधिवेशन सफल बनाउन विभिन्न उपसमितिहरू निर्माण गरेको छ ।