अविनाश चौधरी
धनगढी, मङ्सिर ४ गते । सुदूरपश्चिम प्रदेशमा सामाजिक सुरक्षा कोषमा आवद्धता बढाउनु पर्ने सरोकारवालाले औंल्याएका छन् । यस प्रदेशमा अनौपचारिक श्रमिकहरुको सामाजिक सुरक्षा आवद्धताको अवस्था न्यून रहेकाले आवद्धता बढाउनु पर्ने औंल्याएका हुन् ।
सामाजिक सुरक्षा कोषले बिहीबार धनगढीमा एक कार्यक्रमको आयोजना गरी सुदूरपश्चिम प्रदेशमा ३६४ संस्थाका चार हजार १३६ अनौपचारिक श्रमिक मात्रै सामाजिक सुरक्षा कोषमा आवद्ध भएको जनाएको छ । मानव जीवनचक्रमा आइपर्ने विभिन्न जोखिमको सबैले मिलेर सामाधान गर्ने उद्देश्यसाथ सामाजिक सुरक्षा कोष खडा गरिएको छ । एकका लागि सबै, सबैका लागि एक भन्ने मर्म बोकेर सामाजिक सुरक्षा कोष खडा गरिएको कोषका उपकार्यकारी निर्देशक विवेक पन्थीले बताउनुभयो ।
उहाँले नेपालको श्रम ऐन २०७४ ले सबै क्षेत्रलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आवद्ध हुनुपर्ने व्यवस्था गरेको उल्लेख गर्नुभयो । ऐनको परिच्छेद १० को दफा ५२ देखि ५७ सम्म सञ्चय कोष, उपदान, औषधी उपचार बिमा, दुर्घटना बिमा, औषधी उपचार बिमाको अन्तिम दायित्व लगायतबारे व्यवस्था गरेको छ ।
अनौपचारिक क्षेत्रका श्रमिक नेपालमा श्रम बजारको ठुलो हिस्सा रहेको बताइएको छ । अनौपचारिक क्षेत्रका श्रमिकहरुमा सामाजिक सुरक्षाको विस्तारले गरिबी घटाउनुका साथै समानता प्रवर्धन, मानव पूँजी सुदृढ गर्ने जनाइएको छ । सामाजिक सुरक्षाले सहनशक्ति निर्माण गर्ने सरोकारवालाको ठहर छ ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) का तारा खनालले आधारभूत आयाम सुनिश्चित गर्न र स्वास्थ्य सेवामा पहुँचका लागि सामाजिक सुरक्षा मौलिक अधिकार रहेको बताउनुभयो । उहाँले योगदानमा आधारित सामाजिक सुरक्षाले राज्यमा परेको आर्थिक भार कम गर्न सकिने उल्लेख गर्नुभयो ।
आइएलओका अनुसार नेपालका ८४.६ प्रतिशत व्यक्तिले श्रम अधिकारको उपभोग गर्न पाएका छैनन् । गरिबी र अनौपचारिकता एक अर्कासँग जोडिएका छन् । अनौपचारिक काम गर्ने १८.४ प्रतिशत गरिब छन् । औपचारिकमा २.९८ प्रतिशत श्रमिक गरिब रहेको तथ्याङ्क प्रस्तुत गरिएको छ ।
तथ्याङ्क अनुसार कृषि मजदुरमा सबैभन्दा बढी ३७.८ प्रतिशत गरिबी दर रहेको त्यस्तै, मधेसी दलितहरुमा अनौपचारिकता ९८.५ प्रतिशत, मधेसी उच्च जातमा ६९.५ प्रतिशत अनौपचारिकता रहेको छ । ४२ प्रतिशत अनौपचारिक श्रमिकहरु न्यूनतम तलबभन्दा कम कमाउने गरेको खनालले बताउनुभयो ।
अनौपचारिकले गरिबीलाई पुस्तान्तरण गर्ने गरेको जनाइएको छ । प्राकृतिक प्रकोपले पनि अनौपचारिक क्षेत्रलाई नै बढी समस्या गर्ने गरेको बताइएको छ । सामाजिक सुरक्षाले परिवारलाई गरिबीबाट जोगाउने र पुस्तागत गरिबी चक्र तोड्ने बताइएको छ ।