विशाल सुनार
रुकुमपश्चिम, मङ्सिर ५ गते । पुग्नेलाई फर्कन मन नलाग्ने, फर्किएकालाई पुनः आकर्षित गरिरहने अद्भुत सुन्दर, शान्त र सैम्य गाउँ, गोतामकोट । केही उकालो चढेपछि आँखाभरि देखिने समथर उर्वर भूमि, एक आपसमा आलिङ्गन गरेर बसेका टमक्क घरधुरीले आँगन मात्र हैन करेसा, बलेसी, धुरीहरु उत्तिकै मिलेका छन् ।
गाउँभन्दा अन्त सडक सञ्जालको पहुँचसँगै पक्की कंक्रिट संरचनाले भद्दा र कुरुप बन्दै जाँदा पनि अहिलेसम्म आफ्नो मौलिकताको सज्जामा सजिएको गोतामकोट निकै आकर्षक छ ।
गौतम तथा गोतामे थरको आदिभूमि । विश्वभर फैलिएका गौतम, गोतामेहरुका लागि पवित्र तीर्थ बन्न सक्छ । पिता पुर्खाहरुको पसिनाले सिंचेको भूमि एक पटक टेक्न मात्र पाउनु कुनै तीर्थ गरेभन्दा कम हुन छैन । परिचय एक हैन अनेक छन्, गोतामकोटको । धार्मिक, सांस्कृतिक तथा प्राकृतिक रुपमा मात्र वैभवशाली हैन पौराणिक रुपमा पनि उत्तिकै महत्त्वपूर्ण रहेको मानिन्छ ।
कर्णाली प्रदेशअन्तर्गत रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ५ र ६ मा अवस्थित ढुङ्गाले छाएका परम्परागत शैलीका मौलिक घरहरू भएको गाउँ गोतामकोट । करोडौँ वर्षको नदीकोे लगातारको सङ्घर्षको साक्षी हुन अक्करे भिरमा बसेका भेरीको छालको डाम । जम्दै, भरिँदै, बग्दै गर्दाका थप प्रमाण हुन् मैदानी टार, फाँट, समथर, मनोरम र उर्वर खेत खोरियानहरु ।
पौराणिक कालमा ऋषि अत्रिको पनि तपोभूमि यही थलो रहेको विश्वास गरिन्छ । गाउँकै मध्यभागमा रहेको मालिका मन्दिर शिरमा चित्रीपाटन र गाउँकै फेदीबाट बगेको नागबेली अनवरत ठुलीभेरी नदी,उर्वर फाँटसँगै सुन्दर गाउँहरु निकै आकर्षक छन् ।
लहलहाउँदा अन्न, फल, फूल र सादगीपूर्ण जीवनशैली पाहुनालाई एकसूत्रमा बाँध्न कसर छोड्दैनन् । त्यसैमा स्थानीय रातोमाटो, चुन, कमेरो, लेकाली दियालाे सल्ला, काठका कलात्मक बुट्टेदार झ्याल ढोका, सिलेट आदिले निर्माण भएका घर कम आकर्षक छैनन् । दुईवर्ष पहिले मात्र छिमेकी पालिका स्थित रामिडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पलाई समेत मात खुवाएका घरहरु सुन्दर मात्र हैन बलियो पनि उत्तिकै छन् भन्ने प्रमाण सग्ला घरहरुले दिएका छन् ।
आधुनिकताले छुन सकेको छैनभन्दा फरक पर्दैन । पत्थर अथवा ढुङ्गाको सिलेटले छाएको, हिमालको चुचुरो जस्तो धुरी मिलेको चिटिक्कका घरहरु देख्दा जाे कोहीलाई मन्त्रमुग्ध बनाउन पर्याप्त छ । मिलेका दन्तलहरी जस्तो अधिकांश परम्परागत घर, फाँट र बस्ती लोभलाग्दा छन् ।
दक्षिणतिर सागर भेट्न ओर्लिएको ठुलीभेरीको जलप्रवाहले हिमाली चिसो सिरेटोलाई गाउँसम्म ल्याई पुर्याउँछ र फलिफाप छ । गर्मी याममा चिसो सिरेटो र चिसो याममा न्यानो स्पर्श गराउने चारैतिरका अग्ला पहाडी चुचुराहरु पहरेदार हुन्,संरक्षक हुन् । उर्वर जमिनसँगै जल, जङ्गल, जडीबुटी, फलफूलसमेत गोतामकोटका आधार, जीवनधारा हुन् ।
विभिन्न जातजातिको बसोबास भएकाले पनि सांस्कृतिक विविधतासँगै जातीय विविधता पनि छ गाउँहरुमा ठकुरी, बिष्ट, आरुखोला, बाहुन, कोटतिरुवा, टाँगे, दमैबाडा, पानीकोट लगायत गाउँहरु छन् ।