काठमाडौँ, मङ्सिर ४ गते । कृशन फिल्म्सको ब्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘लोकन्ती’ मङ्सिर २६ गते शुक्रबारदेखि देशभरका हलमा एकसाथ प्रदर्शनमा आउने भएको छ । चलचित्रको प्रदर्शन मितिसँगै फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।
परिवार, प्रेम, सङ्घर्ष, शान्ति र समाजका सूक्ष्म द्वन्द्वलाई कथाको केन्द्रमा राखेर तयार गरिएको चलचित्रलाई निर्देशक रञ्जित रानाले पूर्ण पारिवारिक प्रष्टभूमिमा प्रस्तुत गर्नुभएको छ । काभ्रे जिल्लाका वास्तविक र प्राकृतिक लोकेसनमा छायाङ्कन गरिएको ‘लोकन्ती’ ले पारिवारिक प्रेमकथाभित्र लुकेका सामाजिक संवेदना उजागर गर्ने लक्ष्य लिएको छ ।
चलचित्रमा एसराज गराच, अभिनेतृ तथा मोडेल ऋचा थापा, विमला लिम्बू, कुमार न्यौपाने, विकाश अधिकारी, दमन रुपाखेती, गोविन्द प्रभातलगायत कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रको सङ्गीत निर्देशनमा विकास चौधरी, छायाङ्कनमा रोनिश तामाङ च्याङ्बा रहनुभएको छ ।