• १३ असोज २०८१, आइतबार

तीन पालिका प्रमुखमा महिला निर्वाचित

blog

कास्की, जेठ ७ गते । गण्डकी प्रदेशमा रहेका ८५ पालिकामध्ये १५ वटामा प्रमुखमा महिलाको उम्मेदवारी परेकोमा तीनवटा पालिकामा मात्र महिला प्रमुख निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार मोदी गाउँपालिका पर्वतमा नेकपा एमालेकी उम्मेदवार हीरादेवी शर्मा छ हजार १९ मतसहित अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार गुप्तबहादुर ठकुरीलाई एक हजार ३३९ मतान्तरले पराजित गर्नुभयो । 

बागलुङको बडिगाड गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका गण्डकी थापा विजयी हुनुभयो । पाँच दलीय गठबन्धनको साझा उम्मेदवार थापा जिल्लामा एक मात्रै महिला पालिका प्रमुखमा चुनिनुभएको हो । थापाले सात हजार २७३ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी नेकपा एमालेका राजनकुमार पाइजाले पाँच हजार ७०० मत प्राप्त गर्नुभयो ।

हुप्सेकोट गाउँपालिका नवलपुरमा नेपाली काँग्रेसकी उम्मेदवार लक्ष्मीदेवी पाण्डे अध्यक्ष निर्वाचित हुनुभएको छ । पाण्डे प्रतिस्पर्धी नेकपा एमालेका चेतबहादुर रानालाई पराजित गर्दै चुनिनुभएको हो । पाण्डेले छ हजार ५५५ मत प्राप्त गरी विजयी हुँदा रानाले पाँच हजार ७४१ मत पाउनुभयो । 

यसैगरी, रुपा गाउँपालिका कास्कीमा काँग्रेसबाट उम्मेदवारी दिनुभएकी गीमाया गुरुङ पराजित हुनुभयो । उहाँलाई नेकपा एमालेका नवराज ओझाले पराजित गर्नुभयो । ओझाले पाँच हजार ७४९ मत ल्याउँदा गुरुङले चार हजार १३७ मत प्राप्त गर्नुभएको थियो । ओझा ०७४ सालको स्थानीय तहको निर्वाचनमा समेत निर्वाचित हुनुभएको थियो । 

गत निर्वाचनमा गुरुङले उपप्रमुखमा उम्मेदवारी दिनुभएको थियो । त्यो बेला नेकपा एमालेकी लालसुबा गुरुङ विजयी हुनुभएको थियो । लालसुबा गुरुङ अहिले पनि उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । अघिल्लो निर्वाचनमा गण्डकी प्रदेशका छ पालिकामा महिला प्रमुख निर्वाचित भएका थिए । हुप्सेकोट, पुतलीबजार, दूधपोखरी, धवलागिरि, म्याग्दे र कावासोतीको प्रमुख महिला थिए ।