फडिन्द्र अधिकारी
लेखनाथ, वैशाख १० गते । बेलाबेलामा देखा पर्ने सङ्क्रामक रोगहरूको उपचार र नियन्त्रणलाई प्रभावकारी बनाउन गण्डकी प्रदेश सरकारले विशेष कोष स्थापना गरेको छ । गत महिना बागलुङमा फैलिएको दादुराले महामारीको रूप लिँदा उपचार र नियन्त्रणका लागि स्रोत अभाव भएपछि सरकारले छुट्टै कोष बनाउने निर्णय लिएको हो ।
बुधबार बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठकका निर्णयहरू बिहीबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं आर्थिक मामिला मन्त्री जितप्रसाद शेरचनले अब सङ्क्रामक रोगहरू फैलिएमा कार्यसम्पादन सहज हुने विश्वास व्यक्त गर्नुभयो । कोष सञ्चालनका लागि ‘आपत्कालीन स्वास्थ्य तथा सङ्क्रामक रोग व्यवस्थापन कार्यविधि’ समेत स्वीकृत भएको छ ।
अहिलेलाई पाँच करोड रुपियाँको कोष बनाइएको प्रवक्ता शेरचनले जानकारी दिनुभयो । “बागलुङमा दादुरा महामारीका बेला उपचार गर्न स्रोतको अभाव भयो, त्यसबाट पाठ सिकेर अहिले कोष बनाइएको हो,” उहाँले भन्नुभयो ।
मन्त्रिपरिषद् बैठकले क्यान्सरसहित गम्भीर प्रकृतिका १९७ जना बिरामीलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । जसमध्ये १६८ जना क्यान्सर रोगी र बाँकी अन्य गम्भीर प्रकृतिका बिरामी रहेका छन् । उनीहरूका लागि कुल एक करोड ७५ लाख रुपियाँ सहायता दिने निर्णय भएको हो ।
गण्डकी सरकारले प्रदेश निजामती सेवा र स्थानीय सेवाका कर्मचारीका लागि योगदानमा आधारित निवृत्तिभरणसम्बन्धी व्यवस्था गर्न विधेयकको अवधारणासमेत स्वीकृत गरेको छ । मन्त्री शेरचनले भन्नुभयो, “कर्मचारीको अवकाशपछिको जीवनलाई व्यवस्थित बनाउन यो विधेयक निर्माणको कार्य अब तदारुकताका साथ अघि बढ्छ ।”
नेपाली कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य शेरचन यही वैशाख ३ गते आर्थिक मामिला मन्त्री नियुक्त हुनुभएको थियो । उहाँलाई बुधबारकै मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्ताको जिम्मेवारीसमेत तोकेको हो । यस्तै, सरकारले गण्डकी प्रदेशसभा सचिवालयका लागि चारवटा गाडी खरिद गर्न स्वीकृति दिएको छ । केही समयअघिको आन्दोलनका क्रममा संसद् सचिवालयका प्रायः सबै सवारीसाधन जलेका थिए ।
अघिल्लो सरकारका प्रवक्ता एवं तत्कालीन आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङ आफ्नो कार्यकालमा एक पटक पनि पत्रकार सम्मेलन नगरी बिदा हुनुभएको थियो । वर्तमान मन्त्री शेरचनले गण्डकी सरकारको राजस्व वृद्धि गर्न आफूले योजनाबद्ध प्रयास गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।
नेपाली कांग्रेस र नेकपा (एमाले) को सत्ता गठबन्धन रहेको गण्डकीको मन्त्रिपरिषद् हाल नौ सदस्यीय छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको मन्त्रिपरिषदमा कांग्रेस र एमालेका तर्फबाट चार–चार जना मन्त्री सहभागी छन् ।