• १० वैशाख २०८३, बिहिबार

गुल्मी महोत्सवको तयारी पूरा

blog

गुल्मी उद्योग बाणिज्य संघको पत्रकार सम्मेलन । तस्बिरः टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा (गुल्मी), वैशाख १० गते । गुल्मी उद्योग बाणिज्य संघले आगामी बैशाख ११ गतेदेखि २३ गतेसम्म आयोजना गरेको पाँचौ गुल्मी महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । 

शुक्रबार महोत्सवको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले उद्घाटन गर्नु हुनेछ । पहिलो दिन शोभा कलश यात्रा, झाँकी, पञ्चेबाजासहित राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने छ । 

महोत्सव व्यावस्थापन उपसमिति संयोजक तथा गुल्मी उद्योग बाणिज्य संघका उपाध्यक्ष ताराप्रसाद भुसालले स्थानीय कला संस्कृति, कृषि, घरेलु हस्तकला, पशुपालन लगायतका स्टलहरु दर्शकको हेर्न लायक बनाउने गरेर स्थानीय तहहरुसँग समन्वय गरिएको बताउनुभयो । 

उहाँले मेलाका दर्शक, कलाकर्मीहरुको बिमा, प्राथमिक उपचार, स्टल तथा स्टेज व्यवस्थापनको काम सकिएको बताउनुभयो । अहिलेसम्म २०० बढी स्टलहरु बिक्री भइसकेकाले आवश्यक परेमा थप गर्नेगरी आफूहरुले काम अघि बढाएको भुसालले बताउनुभयो । 

कृषि उद्यमी र घरेलु हस्तकलाका सामग्रीहरुको निःशुल्क स्टलको व्यवस्थापन गरिएको छ । यो महोत्सवको जलपरी, बाल उद्यान, कृषि प्रदर्शनी, स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको प्रस्तुति रहने महोत्सव प्रचार–प्रसार उपसमितिका संयोजक कृष्ण खनालले जानकारी दिनुभयो । 

उहाँले परम्परागतभन्दा डिजिटल माध्यमहरुतर्फ प्रचार–प्रसारलाई जोड दिइएको बताउनुभयो । साँस्कृतिक कार्यक्रम संयोजक ईश्वरी कंडेलले आफूहरुले स्थानीय र राष्ट्रिय सबै कलाकार सर्जकलाई मिलाएर अघि बढेको बताउनुभयो । उहाँले नाम सार्वजनिक गरेर कलाकार नै मञ्चमा नआउने प्रवृतिलाई निरुत्साहित गरेको बताउनुभयो ।

‘गुल्मीको सम्पन्नता र समृद्धिको निकास–शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने मूल नारासाथ आयोजित महोत्सवमा स्थानीय कला, संस्कृति र उत्पादनको प्रदर्शनमा जोड दिने योजना संघको रहेको छ । 

गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष श्रेष्ठले स्थानीय कृषि तथा घरेलु उत्पादनको प्रवर्धन, कला संस्कृति र पर्यटकीय क्षेत्रहरुको प्रचार एवम् आर्थिक करोबारमा टेवा पुर्याउने आफूहरुको उद्देश्य रहेको बताउनुभयो ।

बाणिज्य संघले खुद नाफाको ४० प्रतिशत रेसुङ्गा क्षेत्रको विकासका लागि खर्च गर्ने जनाएको छ । पहिलो गुल्मी महोत्सवबाट रिडी प्रवेशद्वार निर्माणका लागि ४० हजार, रेसुङ्गाको लागि ४० हजार, विचित्र गुफाको लागि ४० हजार, कुर्घा मालिकाको लागि ४० हजार, कंके देउरालीको लागि ४० हजार, तम्घास फोहोर मैला व्यवस्थापनको लागि एक लाख र महेन्द्र माविको लागि एक लाख ५० हजार रुपियाँ बाणिज्य संघले खर्च गरेको थियो ।

पाँचौ महोत्सवको नाफाबाट रेसुङ्गाको पर्यटक प्रर्वद्धनका लागि रचनात्मक काम गर्ने योजना रहेको छ । महोत्सवको व्यवस्थापकीय कामहरुका लागि ३३ उपसमिति गठन भएका छन् । 

महोत्सवमा साढे दुईसय व्यापारिक स्टलहरु रहने गुल्मी उद्योग बाणिज्य संघका महासचिव चेतनारायण पाण्डेयले जानकारी दिनुभयो । महोत्सवमा एक लाख टिकट बिक्री हुने र करिव पाँच करोडको कारोवार हुने अपेक्षा आयोजकले गरेको महासचिव पाण्डेले बताउनुभयो ।