माधवप्रसाद बराल
माछापुच्छ्रे (कास्की), वैशाख १० गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीय शासन प्रणालीअनुसार नेपाल प्रहरी समायोजन नहुँदा प्रशासनिक जटिलता भएको बताउनुभएको छ ।
गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रको नवनिर्मित भवनको बिहीबार पोखरामा उद्घाटन गर्दैे मुख्यमन्त्री पाण्डेले प्रहरी समायोजन प्रक्रिया पूर्ण नहुँदा प्रदेशले विनियोजन गरेको बजेट कार्यान्वयनमा केही प्रशासनिक जटिलता देखिएको उल्लेख गर्नुभयो । उहाँले प्रहरी समायोजनको दीर्घकालीन समाधान आवश्यक रहेको बताउनुभयो । संविधानको मर्मअनुसार प्रहरी समायोजन अपरिहार्य रहेको उहाँको भनाइ छ ।
पाण्डेले गण्डकी प्रदेशमा निर्माणाधीन ३५ वटा प्रहरी युनिट भवनमध्ये ३४ वटा सम्पन्न भइसकेको र एउटा भवन अन्तिम चरणमा रहेको बताउनुभयो । प्रदेश सरकारले शान्ति सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै सुरक्षा निकायका लागि हरेक वर्ष करिब १५ करोड बजेट विनियोजन गर्दैआएको बताउनुभयो ।
उहाँले विसं २०७५ सालमा स्थापना भएको उक्त तालिम केन्द्रको भौतिक पूर्वाधार निर्माण कार्यमा प्रदेश सरकारले प्राथमिकताका साथ अघि बढाएको उल्लेख गर्नुभयो । यी संरचनाले प्रहरी संगठनको सीप, दक्षता र क्षमता अभिवृद्धिमा टेवा पु¥याउने विश्वास उहाँको छ । तालिम केन्द्रले समयसापेक्ष प्रशिक्षण प्रणालीमार्फत गुणस्तरीय तालिम प्रदान गरी दक्ष, पेशागत र सक्षम प्रहरी जनशक्ति उत्पादन गर्ने विश्वास मुख्यमन्त्री पाण्डेको छ ।
उहाँले अपराध नियन्त्रण, अनुसन्धान तथा उद्धार कार्यमा आधुनिक प्रविधिको प्रयोग बढाउन केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ । प्रदेश सरकारले सुरक्षा निकायको मनोबल उच्च राख्न भौतिक पूर्वाधारसँगै सिसिटिभी जडान, खोज तथा उद्धार सामग्री हस्तान्तरण, तालिम, सिमुलेसन अभ्यास, गोताखोर तालिम तथा लागुऔषध दुव्र्यसन न्यूनीकरणको कार्यक्रम सञ्चालन गर्दैआएको उहाँले जानकारी दिुनभयो ।
उहाँले सुरक्षाकर्मीहरूले शान्ति सुरक्षा कायम राख्नेदेखि विपद्का समयमा निर्वाह गर्ने भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा अझ कर्तव्यनिष्ठ, अनुशासित र पेशागत रूपमा सक्षम भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । तालिम केन्द्रमा करिब १३ करोडका लागतमा कार्यालय भवनसहित विभिन्न संरचना निर्माण गरिएको छ ।