• १० वैशाख २०८३, बिहिबार

सडक निर्माण गर्ने सहमतिपछि पूर्वाधार कार्यालयको ताला खोलियो

blog

जिल्ला पूर्वाधार विकास कार्यालयमा तालाबन्दी गरेरे धर्नामा बसेका रघुनाथपुरका स्थानीय । तस्बिर : विजयकुमार साह

विजयकुमार साह

ढल्केबर, वैशाख १० गते। विगत केही वर्षदेखि अलपत्र अवस्थामा रहेको धनुषाधाम–रघुनाथपुर सडकखण्डको निर्माण कार्य पाँच दिनभित्र सुरु गर्ने सहमति भएपछि पूर्वाधार विकास कार्यालय, धनुषामा लगाइएको ताला खोलिएको छ । सडक निर्माणमा सम्बन्धित निकायले उदासीनता देखाएको भन्दै रघुनाथपुरका स्थानीय बासिन्दाले बिहीबार मध्याह्न १२ बजे जनकपुरस्थित सो कार्यालयमा तालाबन्दी गरेका थिए ।

रघुनाथपुरका स्थानीय सुरेश यादवका अनुसार कार्यालय प्रमुख सञ्जीव साहसँग भएको छलफलमा आगामी वैशाख १५ गतेभित्र निर्माण कार्य पुनः थाल्ने प्रतिबद्धता आएपछि ताला खोलिएको हो । "कार्यालय प्रमुखले पाँच दिनभित्र काम सुरु गर्ने लिखित प्रतिबद्धता जनाउनुभएको छ, त्यसैले हाललाई आन्दोलन स्थगित गरी ताला खोलेका हौँ," यादवले भन्नुभयो ।

मधेश प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७८/०७९ मा सो सडक निर्माणको ठेक्का लागेको थियो । करिब पाँच किलोमिटर लम्बाइको उक्त सडकमध्ये सुरुवाती चरणमा केही खण्ड मात्र निर्माण भए पनि बाँकी काम वर्षौंदेखि ठप्प छ । स्थानीयले पटक–पटक ताकेता गर्दा कार्यालय र ठेकेदारले एक अर्कालाई दोषारोपण गर्दै जिम्मेवारीबाट पन्छिने गरेको आरोप लगाएका छन् ।

सडक अलपत्र हुँदा वर्षायाममा हिलाम्मे भएर आवागमनमा निकै सास्ती हुने गरेको स्थानीयको गुनासो छ । कार्यालय प्रमुख साहले केही प्राविधिक समस्याका कारण निर्माण कार्य रोकिएको स्पष्ट पार्दै सहमति अनुसार नै तोकिएको समयभित्र काम सुरु गरिने विश्वास दिलाउनुभयो । यद्यपि, सहमति बमोजिम काम नभए पुनः सशक्त आन्दोलन गर्ने चेतावनी स्थानीयले दिएका छन् ।