शिवकुमार रिजाल
मनहरी (मकवानपुर), बैशाख १० गते । पश्चिम मकवानपुरको कैलाश गाउँपालिका –४ मा रहेको बडनदेवी मन्दिर बेवास्ताको शिकार बनेको छ ।
बढ्दो धर्म परिवर्तन र बसाइँ सराइका कारण ज्यान्द्रुङ भण्डारस्थित विद्यालय परिसरमै रहेको वडनदेवी मन्दिर बेवस्तामा परेको स्थानीयबासिन्दाले बताएका छन् । बिगतमा हेटौँडा, मनहरी, नामटार, चुनियालगायत स्थानबाट फागू पूर्णिमाको रात लाग्ने मेला भर्नका लागि भक्तजन आउने गरेका थिए । तर पछिल्ला १० बर्षयता त्यो क्रम घट्दैगएको मन्दिर संरक्षणमा नै समस्या पर्दै गइरहेको वडाध्यक्ष तिलक लामाले बताउनुभयो ।
लालीगुराँस सिमेन्ट उद्योगले लिक्चे, ज्यान्द्रुङ क्षेत्रका बासिन्दालाई मुआब्जा दिएर चुनढुंगा उत्खनन् गर्न थालेपछि मानिसहरु बसाइँ सरी अन्यत्र जान थालेपछि मन्दिर बेवास्तामा पर्न थालेको हो । ‘गाउँमा मान्छे छैनन्, भएका मानिसहरु पनि धर्म परिवर्तन गर्न थालेका छन्’ वडाध्यक्ष लामाले भन्नुभयो, ‘यस्तो अबस्थामा मन्दिरको संरक्षण चुनौतीपूर्ण बन्दै गइरहेको छ ।’
उहाँका अनुसार बडनदेवी मन्दिरको ठुलो महत्व रहेको छ । यस मन्दिर तथा दुईसय मिटरमाथि रहेको ऋषेश्वर महादेव मन्दिर क्षेत्रप्रति मानिसहरुको चरम विश्वास रहेको थियो । यी मन्दिरहरुमा गएर मागेका कुरा पूरा हुन्थे भन्ने विश्वासका आधारमा मानिसहरु टाढादेखि आउने गरेको वडाध्यक्ष लामा बताउँछन् । तर, अहिले यो क्रम घटेर मन्दिर संरक्षणमै समस्या परिरहेको वडाध्यक्ष लामाको भनाइ छ ।
स्थानीय ऋषेश्वर मन्दिरकै नामबाट स्थापित ऋषेश्वर प्राथमिक विद्यालय परिसरमै वडनदेवी मन्दिर स्थापित छ । ठूलो र अग्लो शिलालाई देवीको मूर्ति मानेर स्थानीय बासिन्दाले पूजा आराधना गर्ने गरेका छन् । गत फागुन २१ गते निर्वाचन र होली पर्व सँगसँगै परेकाले फागु पूर्णिमा मेला पनि हुन नपाएको कैलाश गाउँपालिका –४ नं वडाका सचिव अशोक शर्माले बताउनुभयो ।