अजयकुमार साह
गौशाला (महोत्तरी), वैशाख ९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका अन्तर्गतका सबै विद्यालय र स्वास्थ्य संस्थाहरू पूर्ववत साताको ६ दिन नै सञ्चालन गर्ने निर्णय गरेको छ।
नगर कार्यपालिकाको बुधवार बसेको बैठकले संघीय सरकारले निर्धारण गरेको दुई दिने सार्वजनिक बिदाको व्यवस्थालाई स्थानीय आवश्यकता अनुकूल परिमार्जन गर्दै यस्तो निर्णय गरेको नगर प्रमुख डा दिपेन्द्र महतोले जानकारी दिनुभयो ।
संघीय सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने तथा सरकारी कार्यालयहरू पाँच दिन मात्र सञ्चालन गर्ने निर्णय गरेपनि गौशाला नगरपालिकाले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पर्ने सम्भावित प्रभावलाई मध्यनजर गर्दै आइतबारसमेत सेवा सञ्चालन गर्ने व्यवस्था मिलाएको नगर प्रमुख महतोले जनाउनुभयो ।
जसअनुसार यस पालिकाका विद्यालय र स्वास्थ्य संस्थाहरू साताको ६ दिन सञ्चालन हुनेछन् भने शनिबार मात्र बिदा रहनेछ । नगर प्रमुख डा. दिपेन्द्र महतोले गोरखापत्र संग संक्षिप्त कुरा गर्दै शिक्षा र स्वास्थ्य जस्ता संवेदनशील क्षेत्र दुई दिन बन्द हुँदा नागरिकले प्रत्यक्ष असर भोग्नुपर्ने बताउनुभयो। “विद्यालयमा दुई दिन बिदा हुँदा पठनपाठनको निरन्तरता खण्डित हुन्छ, सिकाइ उपलब्धिमा गिरावट आउन सक्छ,” उहाँले भन्नुभयो, “त्यसैगरी स्वास्थ्य संस्थाहरू दुई दिन बन्द हुँदा बिरामीले समयमै उपचार नपाउने अवस्था सिर्जना हुन्छ, जसले जनस्वास्थ्यमा गम्भीर असर पार्न सक्छ।”
उहाँका अनुसार ग्रामीण तथा नगर क्षेत्रका धेरै नागरिक दैनिक स्वास्थ्य सेवामा निर्भर रहने भएकाले सेवा अवरुद्ध हुँदा थप समस्या उत्पन्न हुने देखिएको छ। “शिक्षा र स्वास्थ्य सेवा आधारभूत आवश्यकता हुन्, यी क्षेत्रमा अवरोध आउन दिनुहुँदैन भन्ने हाम्रो धारणा हो,” नगर प्रमुख महतोले भन्नुभयो ।
नगर कार्यपालिकाको निर्णयअनुसार वैशाख १० गतेदेखि १४ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गरिनेछ भने वैशाख १५ गतेदेखि नियमित कक्षा सञ्चालन गरिनेछ। साथै विद्यालय सुधार योजना निर्माण तथा अद्यावधिक गर्ने, शिक्षकहरूको पेशागत क्षमता विकास गर्ने तथा विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धि गर्ने कार्यक्रमहरू सञ्चालन गरिने जनाइएको छ।
यसैबीच, नगरपालिकाअन्तर्गत सञ्चालित स्वास्थ्य संस्थाहरू पनि साताको ६ दिन सञ्चालन गरिने निर्णय गरिएको छ। नागरिकलाई समयमै अत्यावश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने तथा सेवा प्रवाहलाई निरन्तर र प्रभावकारी बनाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले नेपालको संविधान, २०७२ मा व्यवस्था गरिएको शिक्षा तथा स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रत्याभूति गर्न तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले प्रदान गरेको अधिकारक्षेत्रभित्र रही उक्त निर्णय गरिएको स्पष्ट पारेको छ। साथै, यस निर्णयले स्थानीय स्तरमा शिक्षा र स्वास्थ्य सेवाको पहुँच, गुणस्तर र निरन्तरता कायम राख्ने विश्वास व्यक्त गरिएको छ।