गोरखापत्र अनलाइन
पोखरा, वैशाख ९ गते । नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठलाई कायम गर्न माग गर्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी र कास्कीले महासंघको कार्यालय अगाडि कालो व्यानर प्रदर्शन गरेको छ।
फोनिज गण्डकी र कास्कीले संयुक्त कार्यक्रम गरी स्वर्गीय सत्यनारायणबहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक घोषणा गर्न दबाब स्वरुप केन्द्रीय कार्यक्रमअनुसार नेपाल पत्रकार महासंघ गण्डकी र कास्कीको कार्यालय अगाडि कालो ब्यानर टाँगेको हो।
स्व. सत्यनारायणबहादुर श्रेष्ठले तत्कालीन नेपाल पत्रकार संघ विसं २००८ साल वैशाख ९ गते स्थापना गरी नेपाली पत्रकारलाई एकताबद्ध गर्ने अतुलनीय योगदान गर्नुभएको थियो । कार्यक्रममा फोनिजका संघीय सचिव एमबी आस्थामगर, फोनिज गण्डकी इन्चार्ज रुद्र श्रीसमगर, सल्लाहकार हुमबहादुर गुरुङ, फोनिज गण्डकीका अनुशासन समिति संयोजक मिना थापामगर, फोनिज गण्डकी र कास्की कार्यसमिति लगायत फोनिजका सदस्यहरुको उपस्थिति रहेको थियो।
फोनिजले विगत लामो समयदेखि यस अभियानमा निरन्तर लागेको उल्लेख गर्दै पत्रकारहरुले आफ्नो छाता संगठनको इतिहास कायम गर्न जिम्मेवार भएर लाग्नुपर्नेमा उपस्थित फोनिजकर्मीहरुले जोड दिएका थिए ।