• १० वैशाख २०८३, बिहिबार

लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य

blog

लुम्बिनी प्रदेशसभाको कार्यालय ।

लीलाधर वली

घोराही, वैशाख १० गते । लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको छ । प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको हो ।  

वैशाख १० गते बिहिवार राति १२ बजेदेखि लागू हुने गरी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले अधिवेशन अन्त्य गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता कमल ज्ञवालीले जानकारी दिनुभएको छ । प्रदेश सरकार (मन्त्रिपरिषद्) को निर्णय अनुसार मुख्यमन्त्री चेतनारायण आचार्यमार्फत गरिएको अनुरोधका आधारमा अधिवेशन अन्त्य गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

हिउँदे अधिवेसनमा १६ वटा बैठक बसेका थिए । बिहिवार विहान साढे ११ बजे बसेको १६ औं बैठकमा प्रदेश प्रमुख कार्यालयबाट प्राप्त भएको अधिवेसन अन्त्य सम्वन्धि पत्र सभामुख तुलाराम घर्तीमगरले पढेर सभामा सुनाउनुभएको थियो ।  

१६ औं बैठकले जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको प्रतिवेदन सहितको विधेयक सर्वसम्मत पारित गरेको छ । 

मुख्यमन्त्री चेतनारायण आचार्यको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले उक्त विधेयक माथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सभामुख घर्तीले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै सर्वसम्मत पारित भएको घोषणा गर्नुभएको थियो ।  

बैठकमा भौतिक पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर मन्त्री भूमिश्वर ढकाल गर्नुभएको थियो । बैठकमा सामाजिक विकास समितिका सभापति यमबहादुर नेपाली सार्कीले ‘सामाजिक विकास समितिको वार्षिक प्रतिवेदन’, प्रस्तुत गर्नुभएको थियो ।

विहीबारको प्रदेशसभा बैठकमा प्रदेश सभा सदस्यहरु बसन्ती न्यौपाने, अम्बिका काफ्ले, यमुना रोका तामाङ, भण्डारीलाल अहिर, शान्ति लोध, भगवती अधिकारीले समसामायिक बिषयमा सुन्य समयमा धारणा राख्नुभएको थियो ।