• ४ जेठ २०८१, शुक्रबार

महोत्तरीमा थप पाँच पालिकाको परिणाम सार्वजनिक

blog

नरेन्द्रकुमार कर्ण
महोत्तरी, जेठ ६ गते ।
महोत्तरी जिल्लामा शुक्रबार बिहानसम्म थप चार पालिकाको परिणाम सार्वजनिक भएको छ । जसमा सम्सी गाउँपालिका, लोहारपट्टी नगरपालिका, औरही नगरपालिका, सोनमा गाउँपालिका र बर्दिबास नगरपालिका छन् ।

चारै नगरपालिकामध्ये लोहारपट्टी नगरपालिकामा मात्रै नगरप्रमुखमा दोस्रो कार्यकालको लागि नेपाली काँग्रेसका शैलेन्द्रकुमार यादव विजयी हुनुभएको छ भने अन्यमा सबै नयाँ पदाधिकारी चयन भएको छ ।

लोहारपट्टी नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार रामसुहाग यादवलाई हराउँदै दोस्रो कार्यकालका लागि शैलेन्द्रकुमार यादव विजयी हुनुभएको हो ।

शैलेन्द्रले ५हजार ४२९ मत पाउनु भयो भने रामसुहागले ४ हजार ६७५ मत ल्याउनुभयो ।

त्यसैगरी, उपप्रमुखमा नेपाली काँग्रेसकै सरिता शर्माले ५२८१ मत ल्याएर विजयी हुनुभयो भने उहाँका प्रतिद्वन्द्वी लोसपाका वहिदा खातुनले ४१४३ मत पाउनु भयो ।

लोहारपट्टी नगरपालिकामा रहेको ९ वडामा नेपाली काँग्रेसले पाँच वडा, लोसपाले तिन वडा र एमालेले एउटा वडामा वडाध्यक्ष विजयी गराउन सफल रह्यो ।

त्यसैगरी, सम्सी गाउँपालिकामा जनता समाजवादी पार्टीका रामनाथ यादव ३ तीन ८९३ मत ल्याएर अध्यक्ष पदमा विजयी हुनुभएको छ । उहाँले नेपाली काँग्रेसका उत्तिम प्रसाद यादवलाई एक हजार ३११ मतले हराउनुभयो । नेकाका उत्तिम प्रसाद यादवले २ हजार ५८२ मत ल्याउनुभयो । त्यस्तै, उपाध्यक्ष पदमा जसपाका नेत्री अनिता कुमारीले काँग्रेसकी नेत्री उर्मिला देवी साहलाई ६१३ मतले पराजित गर्दै उपाध्यक्ष पदमा विजयी हुनुभयो । जसपाका नेत्री अनिताले ३२९५ मत पाउनुभयो भने नेकाका नेत्री उर्मिलाले २६८२ मत ल्याउनुभएको हो ।

सम्सी गाउँपालिकामा रहेको सात वडामा नेपाली काँग्रेसले तीन वडा, जसपाले दुई वडा, माओवादी केन्द्रले एक वडा तथा स्वतन्त्रले एक वडामा वडाध्यक्ष जितेको छ ।

त्यसैगरी, जिल्लाको औरहीमा नेपाली काँग्रेसको गढ भत्काउँदै लोकतान्त्रिक समाजवादी पार्टीले आफ्नो जित हासिल गरेको छ । लोसपाका प्रदिपकुमार खडकाले ६ हजार ६७ मत ल्याएर नेपाली काँग्रेसका निवर्तमान नगरप्रमुख सुनिल कुमार यादवलाई हराउनुभयो ।

निवर्तमान नगरप्रमुख यादवले ५ हजार ७४७ मत ल्याउनुभयो । उपप्रमुखमा पनि लोसपाले नेपाली काँग्रेसलाई हराएको छ । लोसपाका नेत्री रेणु झाले ५ हजार ८०८ मत ल्याएर नेपाली काँग्रेसका नेत्री रेखा यादवलाई हराएर उपप्रमुखमा विजयी हुनुभयो । यादवले ५ हजार ६०५ मत प्राप्त गर्नुभयो ।

औरही नगरपालिकामा रहेको नौ वडामा लोसपाले पाँच वडा तथा नेपाली काँग्रेसले चार वडामा आफ्नो वडाध्यक्ष निर्वाचित गर्न सफल रहेको छ ।

त्यसैगरी, जिल्लाको बर्दिबास नगरपालिकामा नेपाली काँग्रेसबाट बागी भएर स्वतन्त्ररुपमा उम्मेदवारी दिनुभएका प्रमुख र उपप्रमुख विजयी भएका छन् । स्वतन्त्रबाट प्रमुख पदका प्रहलादकुमार क्षेत्रीले माओवादी केन्द्रका नेता राजु खडकालाई ५ हजार ८८७ मतले पराजित गरी प्रमुखमा विजयी हुनुभएको हो । क्षेत्रीले १४ हजार २१० मत ल्याउनुभयो भने माओवादी केन्द्रका राजु खडकाले ८ हजा ३२३ मत पाउनुभयो ।

उपप्रमुखमा स्वतन्त्रबाट उम्मेदवारी दिनुभएका तारा देवीले ९ हजार ७३६ मत ल्याएर माओवादी केन्द्रकी नेतृ कृष्णमाया गौतमलाई (८ हजार १८५ मत) हराउनुभयो । १४ वडा रहेको बर्दिबास नगरपालिकामा स्वतन्त्रबाट चार, एमालेले तीन, काँग्रेसले दुई, माओवादी केन्द्रले चार तथा लोसपाले एक वडाध्यक्ष हात पारेको छ ।

त्यसैगरी, महोत्तरीको सोनमा गाउँपालिकामा लोकतान्त्रिक समाजवाद पार्टीको अध्यक्ष र उपाध्यक्ष विजयी भएका छन् । सोनमा गापा निर्वाचन अधिकृतको कार्यालयको अनुसार लोसपावाट गाउँपालिका अध्यक्षको उम्मेदवार विशेश्वर प्रसाद यादव ४ हजार १०८ मत ल्याई विजयी हुनुभएको छ भने उहाँको प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार गोखुल यादव ३२४३ मत ल्याउनुभएको हो ।

त्यसैगरी, उपाध्यक्षमा लोसपाका उम्मेदवार जहिदा खातुनले ३ हजार २९८ मत ल्याई विजयी भएकी छिन् । उहाँको प्रतिद्वन्द्वी नेपाली काँग्रेस पार्टीका उपाध्यक्षको उम्मेदवार रञ्जिता देवी यादव ३२४३ मत ल्याउनुभएको हो ।

कुल १५ पालिका रहेको महोत्तरीमा ११ पालिकाको नतिजा आइसकेको छ भने सम्भवतः तीन पालिकाका नतिजा साँझसम्म आउन सक्ने देखिन्छ ।