• १० वैशाख २०८३, बिहिबार

वन प्रमुखमाथि कारबाहीको माग गर्दै मन्त्रालयमा उजुरी

blog

वन तथा वातावरणमन्त्री शङ्करप्रसाद चौधरीलाई उजुरीपत्र बुझाउँदै अभियानी यादव । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, वैशाख १० गते । आर्थिक अनियमितता तथा वन दोहनमा सङ्लग्न भएको आरोप लगाउँदै डिभिजन वन कार्यालय रौतहटका डिभिजनल वन प्रमुख हेमन्त साहविरुद्ध कारबाहीको माग गरिएको छ ।

चुरे तथा वनजङ्गल संरक्षण अभियान नेपालका अध्यक्ष सुनिलकुमार यादवले वन तथा वातावरण मन्त्रालय जनकपुरमार्फत मुख्यमन्त्रीलाई सम्बोधन गर्दै उजुरी दर्ता गराउनुभएको हो ।

उजुरीमा वन प्रमुख साहमाथि सरकारी वन स्रोतको दुरुपयोग, मिलेमतोमा काठ बिक्री, सामुदायिक वनको रकम अपचलन तथा काठ तस्करलाई संरक्षण दिएको आरोप लगाइएको छ ।

उजुरी अनुसार सखुवाको काठ आपूर्ति प्रक्रियामा अनियमितता गरी सर्वसाधारणलाई सहुलियतमा उपलब्ध गराउनुपर्ने काठ नगराई स–मिलका सञ्चालकसँग गोप्य सहकार्य गरी कम मूल्यमा बिक्री गरिएको दाबी गरिएको छ ।

काठ कारोबारमा प्रतिफिट कमिसन लिने गरिएको आरोपसमेत उल्लेख गरिएको छ । त्यसैगरी सामुदायिक तथा साझेदारी वनको दिगो व्यवस्थापनका लागि छुट्याइएको करिब २० लाख रुपियाँ अनियमितरूपमा फिर्ता लिएर दुरुपयोग गरिएको आरोप पनि उजुरीमा उल्लेख छ ।

 गैँडाटार क्षेत्रमा करिब पाँच हेक्टर वन फँडानी गरी आर्थिक लाभ लिएको प्रमाण मेटाउन वृक्षरोपण गरिएको तथा कार्यालयका महत्त्वपूर्ण कागजात नष्ट गर्न नियोजित रूपमा आगजनी गराइएको जस्ता गम्भिर आरोप पनि उजुरीमा उल्लेख छन् । 

वन क्षेत्रमा व्यापक तस्करी र अवैध फँडानी भइरहँदा सम्बन्धित निकायले प्रभावकारी अनुगमन नगरेको भन्दै उजुरीकर्ताले मन्त्रालयको भूमिकामाथि समेत प्रश्न उठाउनुभएको छ । चुरे क्षेत्रमा क्रसर उद्योगबाट भइरहेको दोहनप्रति पनि ध्यानाकर्षण गराइएको छ ।