• १० वैशाख २०८३, बिहिबार

डुडुवाको कृषि चौफेरीमा आगलागी: ६ घर जलेर नष्ट

blog

डुडुवा–१, कृषि चौफेरीमा आगलागी हुँदा जलेर नष्ट भएको घर । तस्बिर : सिराज खान

सिराज खान

नेपालगन्ज, वैशाख १० गते । बाँकेको डुडुवा गाउँपालिका–१, कृषि चौफेरी गाउँमा बिहीबार दिउँसो भएको भीषण आगलागीमा परी ६ वटा घर जलेर पूर्णरूपमा नष्ट भएका छन् । आगलागीबाट घरमा भण्डारण गरिएको खाद्यान्न, लत्ताकपडा, नगद तथा गरगहनासहित अन्य भौतिक सम्पत्ति खरानी भएको नेपाल रेडक्रस सोसाइटी बाँकेले जनाएको छ ।

नेपाल रेडक्रस सोसाइटी डुडुवा गाउँपालिका शाखा तदर्थ समितिका संयोजक सोहनलाल यादवका अनुसार बिहीबार दिउँसो करिब २ बजे स्थानीय हग्गु यादवको घरबाट अचानक सल्किएको आगोले छिमेकीका घरमा समेत डढेलो फैलाएको थियो । आगलागीबाट हग्गु यादवसहित कृपाराम यादव, कुँवारे यादव, लल्लु यादव, सञ्जय यादव र अरुण यादवको घर नष्ट भएको हो ।

स्थानीय विपद् व्यवस्थापनका अगुवा राम मनोहर यादवले आगलागी लगत्तै नेपालगन्जबाट दमकल बोलाइए पनि घटनास्थल पुग्न ढिलाइ हुँदा क्षति धेरै भएको बताउनुभयो । उहाँका अनुसार स्थानीय समुदाय र ढिलो गरी पुगेको दमकलको सामूहिक प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट भएको क्षतिको यकिन विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ । गर्मी र हावाहुरीको मौसम भएकाले यस क्षेत्रमा आगलागीका घटना दोहोरिने गरेको संयोजक यादवले बताउनुभयो । राप्ती नदीको कटान र डुबानको जोखिममा रहेको कृषि चौफेरी गाउँ आगलागीको चपेटामा परेपछि पीडित परिवारको बिचल्ली भएको छ ।