गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ ५ गते । कुनै चाडपर्व होस् या कार्यक्रम आफ्नो मौलिक पहिरन हाकुपटासीमा सजिन मन लाग्छ पूर्वमिस नेवाः नीतु डङ्गोललाई । उहाँले आफ्नो पहिचान र सान भनेको आफ्नो मौलिक भाषा, खाना र वेशभूषा भएका कारण हाकुपटासी लगाउन मनलाग्ने बताउनुभयो । मौलिक पहिरनमा आफ्नो संस्कृति झल्किनुको साथै अलि फेसनेबल पनि देखिने उहाँको धारणा छ ।
कालो पृष्ठभूमिमा रातो किनाराको हाकुपटासी, चौबन्दी चोली, पछ्यौरा, कल्की र बाजुको पहिरनमा सजिएर डङ्गोल थुप्रै पटक -याम्प सोमा उत्रिसक्नुभयो । गाईजात्रा, इन्द्रजात्रा, बिस्काः जात्रा, सेतो मच्छिन्द्रनाथ, रातो मच्छिन्द्रनाथ जस्ता विशेष उत्सवहरूमा उहाँ हाकुपटासी लगाउन रुचाउनुहुन्छ । चाडपर्वदेखि फेसन सोसम्ममा जातीय पहिरन छाउन थालेको छ ।
उहाँ मात्र होइन मौलिक पहिरन हाकुपटासी, आङ्गी पाङ्देन, बख्खु दोचा, गुन्यूचोली, दौरासुरुवाल लगाउँदा लाज मान्ने युवापुस्ता अहिले यस्ता पहिरनले आफू ‘फेसनेबल’ भएको अनुभव गर्ने गरेका छन् ।
युवा पुस्तामाझ ह्यान्डलुम, ह्यान्डिक्राफ्ट तथा मेड इन नेपाल कन्सेप्टको माग बढेको फेसन डिजाइनरको अनुभव छ । जसमा थरीथरी ढाका, जुट, अल्लो, सिसौ, जुट, हाकुपटासी, हेम, गाँजाजस्ता नेपाली उत्पादनबाट तयार पारिएका पहिरनप्रति आकर्षित हुनेहरूको संख्या बढेको छ ।
ढाका, भादगाउँले टोपी पनि युवामाझ निकै रुचाइएको छ । उनीहरू यसले मौलिकता देखिनुका साथै फेसनेबल देखिने पनि विश्वास गर्छन् । अभिनेता विल्सनविक्रम राईले पनि कार्यक्रमका लागि मौलिक पहिरन नै छान्ने गरेको बताउनुभयो ।
औपचारिक कार्यक्रम अथवा भोजभतेरमा अहिले मौलिक पहिरनको पुनरावृत्ति भएको फेसन छ । डिजाइनर आयशा गौतम भन्नुहुन्छ, “केही समययता मौलिक पहिरनका लुगा सिलाउन धेरै आउने गरेका छन् । उहाँले सांस्कृतिक जागरणसँगै मौलिक पहिरनमा युवापुस्ता लोभिन थालेको बताउनुभयो ।
आधुनिक समाजमा यस किसिमको रूपान्तरण स्वाभाविक हुने उहाँको बुझाइ छ । “युवाको चेतनास्तर बढेको छ,” डिजाइनर गौतम भन्नुहुन्छ, “त्यसैले आफूलाई मोर्डन देखाउन कोटपाइन्ट होइन, मौलिक पहिरन रोज्छन् ।”
यता मोडल करिश्मा अग्रवाल जिन्स टिसर्टभन्दा आफ्नो मौलिक पहिरनमा बढी ट्रेन्डी महसुस गर्ने बताउनुभयो । मारवाडी समुदायको भएका कारण आफ्नो मौलिक पहिरनप्रति हुरुक्कै हुने गरेको उहाँले बताउनुभयो । उहाँले दीपावली, डाण्डिया पर्वमा आफ्नो जातीय पहिरनमा सजिने गरेको पनि जानकारी दिनुभयो ।
युवा तागाबा र युवती मेख्ली लगाएर लिम्बू समुदायले आफ्नो मौलिक पहिरन लगाउने फेसन डिजाइनर धीरज लिम्बू बताउनुहुन्छ । यस्ता पहिरन हातैले तानमा बुनेर लगाउने गरिन्छ । शेर्पा पहिरन सदावहार मानिन्छ । यो औपचारिक मात्र होइन, सदावहार रूपमा पनि प्रयोग गरिन्छ ।
ल्होसारदेखि बिहे भोजसम्मका अवसरमा शेर्पा युवा–युवती आफ्नै मौलिक पहिरनमा सजिएको भेटिन्छन् । विभिन्न जातजातिमा प्रचलित मौलिक पहिरनले उक्त जाति बसोबास गर्ने भूगोल, हावापानी, संस्कृतिको पनि प्रतिनिधित्व गर्ने गरेको पाइन्छ ।
प्रायः हिमाली क्षेत्रमा बसोबास गर्नेले भेडाको ऊनबाट बन्ने बख्खु, दोचा, टोपी लगाउने गर्छन् । पहाडी भेगकाले भोटो, सुरुवाल लगाउँछन् । त्यसैगरी तराईमा कुर्ता पाइजामा, लेहेङ्गा लगाउने गरिन्छ । यस्ता पहिरन मौसमअनुकूल, स्वास्थ्यमैत्री हुने फेसन डिजाइनर बताउँछन् । “धेरैजसो जातजातिले हातैले बुनेर आफ्नो पहिरन तयार गर्ने परम्परा छ,” फेसन डिजाइनर लिम्बू भन्नुहुन्छ, “त्यसैले यो स्वास्थ्यको हिसाबले पनि उपयुक्त मानिन्छ ।”