गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गतेको निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएको बताउनुभएको छ । पद्मकन्या बहुमुखी क्याम्पसको हीरक महोत्सवका अवसरमा शुक्रबार आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपतिले देश अहिले विषम परिस्थितिबाट गुज्रिँदै आएकोले संविधान, लोकतन्त्र र मुलुकलाई जोगाउन सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “यो निर्वाचन परिणामले सुशासन, विकास र समृद्धिको यात्रालाई सुदृढ तुल्याउँदै नयाँ दिशा दिने छ भन्ने मलाई विश्वास छ ।” राष्ट्रको आवश्यता अनुसार व्यावहारिक ज्ञान, नैतिक शिक्षा र क्षमता अभिवृद्धि गर्ने सिपमूलक शिक्षा आजको आवश्यकता भएको टिप्पणी गर्दै उहाँले शैक्षिक संस्थाको प्रमुख कार्य मुलुकमा विभिन्न क्षेत्रका लागि आवश्यक गुणस्तरीय र दक्ष जनशक्ति तयार गर्नुभएको बताउनुभयो ।
“मुुुलुकको प्राज्ञिक र प्रशासनिक मात्र होइन, राजनीतिक क्षेत्रमा स्थापित धेरै महिला यसै क्याम्पसबाट उच्च शिक्षा हासिल गरेको पाइन्छन् तर उच्च शिक्षामा नयाँ नयाँ विषय अध्ययनका व्रmममा पछिल्लो समय नेपाली विद्यार्थी बिदेसिने व्रmम बढ्दो छ,” उहाँले भन्नुभयो, “आगामी दिनमा बजारको मागलाई सम्बोधन गर्न स्वदेशमै गुणस्तरीय शिक्षा प्रदान गर्ने दिशामा यो क्याम्पसले विशेष ध्यान दिने छ भन्ने मैले विश्वास लिएको छु ।” कुनै पनि मुुलुकको विकासका लागि शिक्षाको योगदान महŒवपूर्ण हुने बताउँदै उहाँले नेपालमा नारीहरूको शैक्षिक उन्नयनमा पद्मकन्याको विशेष योगदान रहेको स्मरण गर्नुभयो ।
पद्मकन्याको गौरवपूर्ण इतिहास भएको बताउँदै उहाँले क्याम्पसलाई महिला विश्वविद्यालयका रूपमा स्तरोन्नति गर्नका लागि भएको पहलप्रति प्रसन्नता प्रकट गर्दै सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
पद्मकन्या बहुमुखी क्याम्पसका प्रमुख प्राडा जयालक्ष्मी प्रधानले क्याम्पसलाई प्रविधिमैत्री बनाउँदै विश्व बजारमा प्रतिस्पर्धा गर्ने जनशक्ति उत्पादन गर्ने वचन दिनुभयो । हाल क्याम्पसमा स्नातकदेखि स्नातकोत्तरतहसम्म आठ हजार २४५ विद्यार्थीले अध्ययन गर्दै आएको उहाँले जानकारी दिनुभयो । यस्तै सहायक क्याम्पस प्रमुख विमला नेपालले पद्मकन्या क्याम्पसमा अध्ययन गरेका विद्यार्थी प्रशासन, शिक्षा, राजनीतिलगायत हरेक क्षेत्रमा अब्बल साबित भएको दाबी गर्नुभयो ।
राष्ट्रपतिले पछिल्लो शैक्षिक सत्रमा विद्यावारिधि गर्ने विद्या थापा, प्रज्ञा गौतम, भगवती सेढाईं, निरन खनाल र अन्जना पोखरेललाई सम्मान गर्नुभएको थियो । साथै क्याम्पसले ७५ वर्ष पुगेका पूर्वप्राध्यापकलाई सम्मान गरेको थियो ।