काठमाडौँ, वैशाख १४ गते । आइसिसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत सोमबार भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई) विजयी भएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा युएईले ओमानलाई २५ रनले हरायो । पहिले ब्याटिङ गरेको युएईले ओमानलाई जितका लागि दुई सय ६९ रनको बलियो लक्ष्य दिएको थियो ।
जवाफमा ओमानले राम्रो सुरुआत गरे पनि मध्यक्रममा लगातार विकेट गुमाउँदा ४७.५ ओभरमा दुई सय ४३ रनमा समेटियो । ओमानका लागि विनायक शुक्लाले अविजित ५८ र कप्तान जतिन्दर सिंहले ४६ रन बनाउनुभयो ।
बलिङमा युएईका अजय कुमारले ६ विकेट लिनुभयो । उहाँले ९.५ ओभर बलिङ गर्दै ३५ रनमात्र खर्चिनुभयो । हैदर अलीले एक विकेट लिनुभयो ।
यसअघि पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा दुई सय ६८ रनको योगफल खडा गरेको थियो ।
युएईका लागि आर्यांश शर्माले एक सय पाँच रनको शतकीय इनिङ्स खेल्नुभयो । अदीब उस्मानीले ६४ रन र हरप्रीत सिंहले ५४ रन बनाउनुभयो ।