• १५ जेठ २०८१, मङ्गलबार

निर्वाचन सुरक्षा व्यवस्था चुस्त होस्

blog

काठमाडौँ, वैशाख १३ गते । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि आज निर्वाचन सुरक्षा विषयक मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।

नेपाल सरकार, गृह मन्त्रालय, रक्षा मन्त्रालय, चारवटै सुरक्षा निकाय, आयोगका कर्मचारी र साझेदार संस्था युएडडिपी, इएसपीका प्रतिनिधि सहभागी सो प्रशिक्षण कार्यक्रमको आयोगका आयुक्त डा. जानकी कुमारी तुलाधरले शुभारम्भ गर्नुभयो । 

आयुक्त डा. तुलाधरले निर्वाचन भयरहित, स्वतन्त्र, निष्पक्ष र विश्वनीय तरिकाले गराउन निर्वाचन सञ्चालन र व्यवस्थापनमा सुरक्षा निकायको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । देशको सुरक्षाको जिम्मेवारी नेपाल सरकारको भएपनि निर्वाचनमा सुरक्षा व्यवस्थापन निर्देशिकाअनुसार सुरक्षा व्यवस्था आवश्यक रहेको चर्चा गर्नुभयो । 

आयुक्त डा. तुलाधरले सुरक्षा निकायले उम्मेदवार, मतदाता, कर्मचारीसहित निर्वाचनको सबै सरोकारवाला पक्षको सुरक्षा दिन आवश्यक रहकेो बताउनुभयो । कार्यक्रमले निर्वाचनमा सुरक्षा व्यवस्थालाई थप भरपर्दो बनाउन सहयोग पुग्ने उहाँले बताउनुभयो ।  

कार्यक्रममा आयोगका सचिव गोकर्णमणि दुवाडी, सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलसहित उच्च अधिकारीको उपस्थिति थियो । प्रशिक्षणको दोस्रो सत्रमा आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले निर्वाचनसम्बन्धी कानूनी पक्ष, आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले निर्वाचन कार्यक्रम र व्यवस्थापन, आयोगका उपसचिव सूर्यप्रसाद अर्यालले मतदान र मतगणना विषयमा प्रशिक्षणमा प्रस्तुति र सहजीकरण गर्नुभएको थियो ।

प्रस्तुतीकरणमा स्थानीय तहको निर्वाचन कार्यक्रम, निर्वाचन कसुर तथा सजाय, आचारसंहिता, अनुगमन, पर्यवेक्षण, सामाजिक सञ्जाल अनुगमन, विवाद सुनुवाइ र निरुपण, मतपत्र छपाइ र ढुवानी, मतदान र मतगणना प्रक्रिया आदि विषय समाविष्ट गरिएको थियो ।