लीलाधर वली
घोराही, वैशाख ७ गते । दाङमा प्रहरीले एक महिनाको अवधिमा ५४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । फरार प्रतिवादी पक्राउ गर्ने प्रहरीको अभियानअन्तरगत चैत महिनामा अदालतबाट दोषी ठहर भई फरार रहेका ५४ जना प्रतिवादीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका प्रतिवादीलाई अदालतले आठ वर्ष तीन महिना चार दिन कैद सजाय र दुई लाख ५४ हजार पाँच सय ३२ रुपियाँ जरिवाना तोकेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनुभएको छ ।
प्रहरी नायव उपरीक्षक बोहराका अनुसार पक्राउ परेका प्रतिवादीलाई अदालतमार्फत कैद सजाय भुक्तानीका लागि कारागार चलान गरिएको छ । पक्राउ परेकामध्ये फैसला भएको १० वर्षपछि पक्राउ पर्ने नौ जना, पाँच वर्षपछि पक्राउ पर्नेमा १५ जना र बाँकी ३० जना पाँच वर्षभन्दा कम समयमा पक्राउ पर्ने रहेका छन् ।
सूचना अधिकारी बोहराका अनुसार अदालतबाट दोषी ठहर भइ फरार रहेका एक हजार एक सय नौ जना रहेकोमा चालु आर्थिक बर्षको नौ महिनामा चार सय ६७ जनालाई पक्राउ गरिएको बताउनुभएको छ ।
प्रहरी नायव उपरीक्षक बोहराले भन्नुभयो, ‘‘शान्ति सुरक्षालाई सुदृढसँगै अपराध नियन्त्रणका क्रममा अदालत दोषी ठहर भएका ५४ जना फरार प्रतिवादीलाई पक्राउ गरेका छौ । अन्यको खोजी कार्य भइरहेको छ ।’’
चैत महिनामा जिल्ला प्रहरी कार्यालय तथा मातहतका निकायमा दर्ता भएका १०० मुद्दामध्ये ३३ मुद्दा फस्र्योट भएका छन भने ६६ वटा मुद्दा अनुसन्धान तथा कारबाहीको प्रक्रियामै रहेको जानकारी दिनुभएको छ ।