• १२ असार २०८१, बुधबार

रोजगारीका लागि सरकारको रणनीति

बहुआयामिक आवश्यकतालाई एकद्वारबाट सहयोग गर्ने

blog

काठमाडौँ, जेठ १५ गते  । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वारबाट सहयोग गर्ने उद्देश्यका साथ देशका सातै प्रदेशमा श्रमाधान रोजगार मेला आयोजनाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । आवश्यक सिपसहितको जनशक्ति खोजिरहेका रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवालाई एक ठाउँमा मिलन गराउने गरी यही १७ गतेदेखि ३० गतेसम्म प्रदेशस्तरीय श्रमाधान रोजगार मेलाको आयोजना गर्न लागेको हो ।   

 श्रम मन्त्रालयका सहसचिव एवं प्रवक्ता गोविन्दप्रसाद रिजालले आन्तरिक रोजगारीलाई प्रवर्धन गर्ने उद्देश्यले जेठ १७ गतेदेखि विराटनगरबाट सुरु हुने श्रमाधान तथा रोजगार मेला ३० गते ललितपुरमा आएर सम्पन्न गर्ने गरी गरिएको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । 

उहाँका अनुसार सबै प्रदेशमा स्टल निर्माणको काम धमाधान भइरहेको छ । मेलामा सहभागी हुन चाहनेले धमाधम अनलाइनमार्फत स्टल बुकिङ गरिरहेका छन् । मेलामा सहभागी हुनका लागि आवेदन आह्वान गरिएको सूचनामा ठुलो सङ्ख्या रोजगारीको चासो देखाउनेको रहेको उहाँले जानकारी दिनुभयो । निजी र साझेदारी क्षेत्र बढाएर लैजाने सिप विकास, आन्तरिक र वैदेशिक रोजगारीमा गुनासो, चासो, सुझाव सङ्कलन गर्ने र त्यसको समाधानका लागि मन्त्रालय, वैदेशिक रोजगार बोर्ड, सामाजिक सुरक्षा कोषका बुथमार्फत समाधान खोजिने उहाँको भनाइ छ । मेलाको मुख्य उद्देश्य कसरी निजी क्षेत्रसँग मिलेर रोजगारी सिर्जना गर्न र आन्तरिक रोजगारीलाई कसरी बढवा दिन सकिन्छ भन्नेमा नै केन्द्रित हुने बताउनुभयो । 

उहाँले प्रत्येक प्रदेशमा दुई दिनसम्म चल्ने श्रमाधान तथा रोजगार मेलामा श्रमाधान अवधारणाको सम्बन्धित प्रदेशमा रहेका रोजगारदाता उद्योग/प्रतिष्ठान, रोजगारदाता कम्पनी रोजगारीको खोजीमा रहेका युवा र श्रमका जानकार विज्ञसहितको सहभागिता रहने पनि जानकारी दिनुभयो । मेलामा विशेष गरी सिप सिकाइ, उद्यमशीलता, आर्थिक वृद्धि सार्वजनिक निजी साझेदारी अभिवृद्धि गर्ने मुख्य उद्देश्य राखिएको उहाँको भनाइ छ । 

मन्त्रालयका अनुसार मेलामा श्रमिकको सबै खालका समस्या समाधानका लागि सञ्चालन गरिएको श्रमाधान योजना, सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार बोर्डलगायत विभिन्न खालका तालिम प्रदायक संस्थाको पनि सहभागिता रहने छ । यस्तै सामी परियोजना, रेमी योजना, उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल च्याम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घ, होटल व्यवसायी महासङ्घलगायतको सहभागिता रहने छ । साथै मेलामा रोजगारदाता उद्योग/प्रतिष्ठान, बैङ्क तथा वित्तीय संस्थाका फरक फरक ‘बुथ’ राखिने र जसबाट सबै तहका श्रमिक र रोजगारदाताका आवश्यकताको विषयमा छलफलका कार्यक्रम गरिने छ । 

यस्तै मेलामा अन्तर्राष्ट्रिय रोजगार : कानुनी प्रक्रिया र मनोवैज्ञानिक प्रभाव विषयमा कार्यपत्र प्रस्तुत गरिने छ । जसमा अन्तर्राष्ट्रिय रोजगारीका लागि भिसा, श्रम स्वीकृति र श्रम कानुनको प्रक्रियाको समेत जानकारी मन्त्रालयले जनाएको छ । मनोवैज्ञानिक रूपमा वैदेशिक रोजगारीमा गएका श्रमिकले महसुस गर्ने सांस्कृतिक भिन्नता, एक्लोपन र नयाँ वातावरणमा समायोजनको चुनौतीलगायतका विषयमा मेलामार्फत जानकारी गराइने छ । 

प्रत्येक प्रदेशमा दुई दिनका दरले १४ दिनसम्म सञ्चालन हुने श्रमाधान रोजगार मेलाको उद्देश्य उचित दक्ष जनशक्तिको खोजीमा रहेका रोजगारदाता र रोजगारीको खोजीमा रहेका जनशक्तिबिचको पुलको काम गर्ने उद्देश्य रहेको जनाइएको छ । मन्त्रालयका प्रवक्ता रिजालले यस प्रकारको मेला हाल प्रदेशस्तरमा गरिए पनि आगामी वर्षमा जिल्ला र स्थानीय तहसम्म पुर्‍याउने लक्ष्य राखिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मेलामा यतिउति सङ्ख्यालाई रोजगारी दिने भन्ने कार्यक्रम होइन, रोजगारीका लागि सहयोग पुर्‍याउने माध्यम बनाउन खोजेका हौँ ।” मन्त्रालयले आयोजना गर्न लागेको प्रदेशस्तरीय यो मेला सुरुवात मात्रै भएको बताउँदै उहाँले आगामी दिनमा मेलालाई जिल्ला र स्थानीयस्तरसम्म पुर्‍याउने लक्ष्य राखिएको बताउनुभयो । 

श्रमाधान रोजगार मेला कोशी प्रदेशको विराटनगरमा यही १७ देखि १८ गतेसम्म मधेश प्रदेशको वीरगन्जमा १९ देखि २० गतेसम्म गण्डकी प्रदेशको पोखरामा २१ देखि २२ गतेसम्म लुम्बिनी प्रदेशको बुटवलमा २३ देखि २४ गतेसम्म, कर्णाली प्रदेशको सुर्खेतमा २५ देखि २६ गतेसम्म, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ देखि २८ गतेसम्म र बागमती प्रदेशको ललितपुरमा २९ देखि ३० गतेसम्म सञ्चालन गरिने सम्मेलनमार्फत जानकारी दिइयो ।