• २२ फागुन २०८२, शुक्रबार

कामदार र परिवारमा मनोवैज्ञानिक त्रास

blog

काठमाडौँ, फागुन २२ गते । बागलुङ घर भई हाल छोराछोरीसहित काठमाडौँ बस्दै आएकी प्रमिला पौडेल गत शनिबारदेखि मनोवैज्ञानिक रूपमा त्रसित हुनुहुन्छ । श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा हाल कुवेतमा कार्यरत रहेको र त्यहाँ अमेरिका तथा इजरायलले इरानमाथि गरेको सैन्य हमलापछि इरानले पनि गरेको जवाफी हमलाले उहाँलाई त्रसित बनाएको हो । 

एक महिनाअघि बिदामा आएर फर्किएका प्रमिलाका श्रीमान्को कार्यस्थलनजिकै अमेरिकी क्याम्प रहेको जानकारी दिँदै उहाँले भन्नुभयो, “त्यहाँ इरानले कतिबेला आक्रमण गर्छ भन्ने त्रासमा श्रीमान् हुनुहुन्छ र म पनि त्यो दिनदेखि न भोक न निद्रा भएकी छु ।” कुवेतस्थित नेपाली दूतावासका अनुसार कुवेतमा हाल एक लाख ७५ हजारभन्दा बढी नेपाली कार्यरत रहेको र प्रमिला जस्तै अन्यका परिवार पनि यस्तै त्रासमा रहेको अनुमान गर्न सकिन्छ । 

रोजगारीका लागि गएको दुई वर्षदेखि कतारमा रहेको भाइ सम्झिँदै कास्की लेखनाथका विशाल भण्डारीले वैशाखमा विवाह गर्न आउने भनेको भाइसँग भेट नै पो नहुने हो कि भन्ने चिन्ता गर्नुभयो । कतारमा पेट्रोल पम्पमा काम गर्दै आएको भाइ पछिल्लो घटनाले असाध्यै डराएको भन्दै उहाँले आफूहरूले उद्धारको पहल गरौँला भनेर ढाडस दिएको जानकारी दिनुभयो तर सरकारसँग बुझ्दा त्यो हुने नदेखिएकाले आफू पनि असाध्यै डरको अवस्थाबाट गुज्रिएको बताउनुभयो । 

त्यस्तै कतारमा रहेको नेपाली दूतावासका अनुसार हाल तीन लाख ५७ हजार ९१३ नेपाली श्रमिक त्यहाँ कार्यरत छन् । माथिका दुई वटा प्रतिनिधिमूलक भनाइबाट अमेरिका र इजरायलले इरानमाथि गरेको सैन्य हमलापछि पश्चिम एसियामा चर्किएको तनावका कारण ती देशमा कार्यरत १७ लाख नेपाली र यहाँ रहेका उनीहरूका परिवार मनोवैज्ञानिक रूपमा त्रसित छन् भन्ने पुष्टि गर्छ । संयुक्त अरब इमिरेट्स (युएई) मा एक नेपाली युवाको ज्यान गएको दुःखद घटनाबाहेक अन्य नेपाली सुरक्षित भएको दाबी नेपाल सरकारले गरिरहेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले ती देशमा रहेका दूतावासका कर्मचारीसँग निरन्तर सम्पर्क भइरहेकाले अहिलेसम्मको अवस्था हेर्दा तत्काल खतरा नदेखिएको बताउनुभयो । 

केही दिनअघि मात्रै परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको नेतृत्वमा सरोकारवाला मन्त्रालयका प्रतिनिधि सम्मिलित ‘इमर्जेन्सी रेस्पोन्स टिम’ गठन भएको छ । टोलीमा गृह, अर्थ, कानुन, पर्यटन तथा नागरिक उड्डयन, कन्सुलर सेवा विभाग, राहदानी विभाग, नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार विभाग र अध्यागमन विभागका प्रतिनिधि छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले खाडी क्षेत्रका १० कूटनीतिक नियोग चौबिसै घण्टा सक्रिय रहेर काम गरेको जानकारी दिनुभयो । 

ट्रान्जिटमा एक हजार तीन सयभन्दा बढी

क्षेत्रीय हवाई उडान अवरुद्ध हुँदा अबुधाबी, दुबई, दोहा र कुवेतका विमानस्थलमा कम्तीमा एक हजार नेपाली रोकिएका छन् । सम्बन्धित एयरलाइन्सले उनीहरूको अस्थायी बसोबास र खानपानको व्यवस्था मिलाएको यसअघि नै परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ । युएई सरकारले ट्रान्जिटमा रहेका विदेशीलाई होटेलमा खाने बस्ने व्यवस्था गरेको युएईमा रहेको नेपाली दूतावासले जनाएको छ ।

खाडी क्षेत्रमा विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राखेर संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरब, कतार, कुवेतलगायतका देशमा रहेका नेपाली नागरिकको वास्तविक अवस्था बुझ्न र आवश्यक सहयोग पु¥याउन सम्बन्धित देशमा रहेका राजदूतावासले अनलाइन पोर्टल निर्माण गरेका छन् । ती दूतावासले सूचनामार्फत प्रभावित आफ्ना नागरिकलाई आफ्नो विवरण यथाशीघ्र अद्यावधिक गर्न आग्रह गरेका हुन् । विवरण सङ्कलन र प्राथमिकता यो पोर्टल विशेष गरी पहिलो चरणमा विभिन्न देशबाट नेपाल फर्कने क्रममा युएईका विमानस्थलमा अलपत्र परेका नेपालीका लागि सञ्चालनमा ल्याएको जनाइएको छ । 

युएईमा रहेको दूतावासका अनुसार फेब्रुअरी २८ पछि ओभर स्टे भएका व्यक्तिका हकमा कुनै पनि जरिबाना नलाग्ने जानकारी प्राप्त भएको छ । यस्तो असहज परिस्थितिमा रहेका नेपालीलाई विचलित नभई संयमता अपनाउनसमेत दूतावासले अनुरोध गरेको छ । अन्य प्रकृतिका समस्या वा अवस्थामा रहेका व्यक्तिका हकमा भने दूतावासले आगामी दिनमा अर्को सूचनामार्फत थप जानकारी गराउने उल्लेख छ ।