अर्घाखाँची समाचारदाता
अर्घाखाँची, वैशाख ३० गते । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले युवालाई कृषि उत्पादनमार्फत गाउँमै भविष्य निर्माण गर्न सकिन्छ भन्ने सन्देश दिन बाँझो जमिनमा आलु र धान खेती सुरु गरेको छ । गाउँपालिका–४, सेरीखोलास्थित परशुरामेश्वर गुठीको २० रोपनी बाँझो जमिन उपयोग गर्दै यस वर्ष आलु खेती गरिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत वासुदेव खनालले यस पटक करिब ३० क्विन्टल आलु उत्पादन गरिएको बताउनुभयो । अघिल्लो वर्ष सोही जमिनमा धान खेती गरी ६० मुरी धान उत्पादन गरिएको थियो । यस वर्ष गोबर मल र कम्पोस्ट मल प्रयोग गरी उत्पादन गरिएको अर्गानिक आलु खेतबाटै बिक्री भएको छ ।
गाउँपालिकाले आलुको ग्रेडिङ गरेर मूल्यसमेत निर्धारण गरेको थियो । ठुलो आलुको थोक मूल्य प्रतिकिलो ४३ देखि ४८ रुपियाँ र फुटकर मूल्य ५३ रुपियाँ कायम गरिएको थियो । मध्यम आकारको आलुको खेतमै थोक मूल्य ३८, फुटकर ४० तथा पालिका कार्यालयबाट ४५ रुपियाँमा बिक्री गरिएको थियो । सानो आलुको थोक मूल्य ३३, फुटकर ३५ र पालिकाबाट ४० रुपियाँ निर्धारण गरिएको प्रमुख प्रशासकीय अधिकृत खनालले जानकारी दिनुभयो ।
बिउ, मल तथा अन्य व्यवस्थापनसहित आलु खेतीमा करिब एक लाख रुपियाँ लगानी गरिएको थियो । गाउँपालिकाले कृषि उद्यमबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न यो अभियान सुरु गरेको जनाएको छ ।
गाउँपालिका उपाध्यक्ष मणि पन्थीका अनुसार आलु उत्पादनपछि पुनः सोही जमिनमा धान खेती गर्ने तयारी भइरहेको छ ।
गाउँपालिकाले खेती सुरु गरेपछि आसपासका किसानसमेत आलु खेतीतर्फ आकर्षित हुन थालेका छन् । “पालिकाले आलु र धान खेती थालेपछि नजिकका केही कृषकले पनि आलु खेती सुरु गरेका छन्,” पन्थीले भन्नुभयो, “यसले कृषि उत्पादनमार्फत गाउँमै रोजगारी र आम्दानीको सम्भावना बढ्ने विश्वास लिएका छौँ ।”
गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठले पालिकाले अर्गानिक खेतीलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले बजारीकरणका लागि समेत बुटवलसम्म लैजानका लागि एक कम्पनीसँग सहकार्य गरी ढुवानी हुँदै आएको बताउनुभयो ।