विनय कर्ण
कल्याणपुर (सप्तरी), वैशाख ३० गते । सप्तरीको राजविराज बजारमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा विभिन्न मासु पसल तथा मिठाई उद्योगबाट खान अयोग्य कुहिएको मासु, बासी खाद्य सामग्री तथा सरसफाइमा गम्भीर लापरबाही फेला परेको छ ।
अनुगमन टोलीले करिब १६ किलोभन्दा बढी खान अयोग्य मासु तथा तयारी अवस्थामा राखिएको मैदा नष्ट गर्नुका साथै दर्ता नभएका केही पसलमा सिलबन्दीसमेत गरेको हो ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा रहेको संयुक्त बजार अनुगमन समितिले मंगलबार राजविराज नगरपालिका वडा नम्बर ३ स्थित एक वर्षदेखि सञ्चालनमा रहेका मोहम्मद कादिर, मोहम्मद मस्तकिमसहित तीन वटा दर्ता नभएका मासु पसलमा अनुगमन गर्दा बिक्रीका लागि राखिएको खान अयोग्य मासु बरामद गरेको थियो । टोलीले उक्त मासु नियन्त्रणमा लिएर पसलको सटरमा ताल्चा लगाएको छ ।
राजविराजका ठुला मासु आपूर्तिकर्तामध्ये एक मानिने विजय फ्रेस हाउसमा मूल्यसूची नराखिएको तथा तोकिएको प्रतिकिलो एक हजार ५० रुपियाँभन्दा बढी मूल्यमा मासु बिक्री भइरहेको पाइएको हो । राजविराज नगरपालिकाको पशुपन्छी विकास शाखाका पशु चिकित्सक सन्नी कुमार दासका अनुसार उक्त पसलबाट ६ किलो बासी मासु बरामद गरी नष्ट गरिएको छ ।
त्यसैगरी हटियास्थित सावित्री खसी मासु पसलबाट १० किलोभन्दा बढी कुहिएको मासु फेला परेको र त्यसलाई समेत नष्ट गरिएको छ ।
अनुगमनका क्रममा यमी स्वीट्समा ब्रेड बनाउन मुछेर राखिएको करिब २ किलो मैदा गुणस्तरहीन अवस्थामा भेटिएपछि नष्ट गरिएको जिल्ला प्रशासन कार्यालयका प्रवक्ता तथा सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादवले जानकारी दिनुभयो ।
यमी स्वीट्सको भान्सा, मिठाई तयारी कक्ष तथा भण्डारण कक्षमा सरसफाइको कमी, खाद्य प्रशोधन सामग्री खुला स्थानमा राखिएको लगायतका कमजोरी भेटिएपछि उत्पादन प्रक्रिया तत्काल बन्द गरी सुरक्षित मापदण्ड अपनाएर मात्रै सञ्चालन गर्न सञ्चालकलाई निर्देशन दिइएको छ ।
भण्डारण कक्ष, प्रशोधन कक्ष तथा व्यक्तिगत सरसफाइमा सुधार गरी एक साताभित्र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजमा उपस्थित हुने प्रतिबद्धता सम्बन्धित होटल तथा मासु पसल सञ्चालकहरूले जनाएको कार्यालयले जनाएको छ ।