• ३० वैशाख २०८३, बुधबार

डिजिटलमार्फत विद्युत् महसुल भुक्तानी, बन्द हुँदै काउन्टर सेवा

blog

घोराहीस्थित नेपाल विद्युत् प्राधिकरण कार्यालय । तस्बिर : लीलाधर वली

लीलाधर वली 
घोराही, वैशाख ३० गते ।
नेपाल विद्युत प्राधिकरण अन्तर्गत दाङ जिल्लाका विभिन्न वितरण केन्द्रहरूले विद्युत् महसुल सङ्कलन प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाउने निर्णय कार्यान्वयनमा ल्याउन थालेका छन् । यसक्रममा लमही वितरण केन्द्रअन्तर्गत सञ्चालित भालुवाङ महसुल काउन्टर आगामी जेठ १ गतेदेखि भौतिक रूपमा बन्द हुने भएको छ ।

त्यसैगरी, लमही वितरण केन्द्रले लमहीमा रहेको काउन्टर सेवा आगामी साउन १ गतेदेखि पूर्ण रूपमा बन्द गर्ने भएको छ । लमही वितरण केन्द्रका प्रमुख ज्ञानबहादुर तर्तालका अनुसार भालुवाङ महसुल काउन्टरसँगै लमही वितरण केन्द्रको काउन्टर सेवा पनि क्रमशः बन्द गर्न थालिएको हो ।

लमही वितरण केन्द्रअन्तर्गत हाल ४५ हजार ग्राहक रहेकामध्ये करिब ७० प्रतिशतले पहिलेदेखि नै अनलाइनमार्फत महसुल भुक्तानी गर्दै आएका छन् । बाँकी उपभोक्तालाई पनि डिजिटल भुक्तानीतर्फ अभ्यस्त गराउने उद्देश्यले काउन्टर सेवा बन्द गर्न लागिएको प्रमुख तर्तालले बताउनुभयो ।

डिजिटल प्रणालीमार्फत विद्युत् महसुल भुक्तानी गर्दा समस्या भए ग्राहकलाई कर्मचारीले सहयोग गर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अनलाइन भुक्तानीमा ग्राहकलाई अभ्यस्त गराउने गरी भौतिक काउन्टर बन्द गर्न थालेका छौँ । समस्या भए कार्यालयमा आउने ग्राहकलाई कर्मचारीले सहयोग गर्नेछन् ।”

उहाँका अनुसार काउन्टर सेवा बन्द भएपछि उपभोक्ताले इ–सेवा, खल्ती, फोन–पे लगायत विभिन्न बैंकिङ सेवामार्फत विद्युत् महसुल भुक्तानी गर्न सक्नेछन् ।

लमहीजस्तै घोराही वितरण केन्द्रले पनि सूचना जारी गर्दै निकट भविष्यमा भौतिक रूपमा विद्युत् महसुल बुझ्ने काउन्टर बन्द गरिने जानकारी दिएको छ । घोराही वितरण केन्द्रका इन्जिनियर नन्दलाल शर्माका अनुसार नेपाल विद्युत् प्राधिकरण विद्युत् महसुल विनियमावली, २०७८ को नियम ४ बमोजिम बिलिङ प्रणालीलाई क्रमशः स्वचालित प्रविधिमा आधारित बनाउनुपर्ने प्रावधानअनुसार भौतिक रूपमा महसुल सङ्कलन गर्ने कार्य बन्द गर्न लागिएको हो ।

उहाँका अनुसार काउन्टर सेवा बन्द भएपछि उपभोक्ताले भक्भधब, प्जबतिष्, एजयलभएभ जस्ता मोबाइल वालेट तथा विभिन्न बैंकिङ सेवामार्फत जुनसुकै समयमा डिजिटल रूपमा विद्युत् महसुल भुक्तानी गर्न सक्नेछन् ।

हाल घोराहीमा भौतिक उपस्थितिसँगै डिजिटल एप्स तथा बैंकिङमार्फत विद्युत् महसुल बुझाउने व्यवस्था रहेको उल्लेख गर्दै इन्जिनियर शर्माले नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय नीतिअनुसार महसुल भुक्तानी पूर्ण रूपमा डिजिटल प्रणालीमार्फत गर्ने तयारी भइरहेको बताउनुभयो ।

डिजिटल प्रणाली लागू भएपछि उपभोक्ताले लाइनमा बसेर महसुल तिर्नुपर्ने झन्झटबाट मुक्ति पाउनुका साथै समय र खर्च दुवैको बचत हुने अपेक्षा गरिएको छ । घोराही वितरण केन्द्रअन्तर्गत हाल ५६ हजार ९९४ ग्राहक रहेका छन् ।