• ३० वैशाख २०८३, बुधबार

चुलो बाल्न अझै गुइँठाको प्रयोग

blog

बुटवल समाचारदाता

बुटवल, वैशाख ३० गते । तराई क्षेत्रका अधिकांश गाउँमा खाना पकाउने ग्यासको प्रयोग बढे पनि रुपन्देहीमा भने गोबर सुकाएर बनाइने गुइँठाबाट खाना पकाउने प्रचलनमा कमी आएको छैन । 

गाईभैँसी पाल्ने घरका महिला त्यही गाईभैँसीको गोबर सुकाएर गुइँठा बनाई खाना पकाउने गरेका छन् । खाना पकाउने ग्याँसको मूल्य बढिरहने हुँदा तराई क्षेत्रका महिलाले पछिल्लो समय गुइँठाको प्रयोग अझै बढाएको बताउँछन् । 

रुपन्देहीको गैडहवा गाउँपालिका सूर्यपुरा, कुट्टा, हसनापुर, मैनहिया, चानापार, दोगहरा, बक्सडलगायतका गाउँका महिला गाईभैँसीको गोबरबाट गुइँठा बनाएर खाना पकाउँदा ग्यासभन्दा धेरै सस्तो पर्ने गरेको बताउँछन् । 

तराईमा गुइँठाबाट खाना पकाउने प्रचलन पुरानै हो । सो प्रचलनलाई ग्यास र इलेक्ट्रिक चुलोले पनि विस्थापित गर्न सकेको छैन । गैडहवा गाउँपालिका उपप्रमुख माधुरी जैसवाल तराईका गाउँका महिलाले खाना पकाउन गोबर गुइँठाको प्रयोग गरिरहेको बताउनुभयो । 

गैडहवा हसनापुरकी रमिता यादवले गाउँका कतिपय महिला अझै पनि खाना पकाउने ग्यास प्रयोग गरेर खाना पकाउन असहज मान्ने गरेको बताउनुभयो । गुइँठाबाट खाना पकाउँदा खानाको स्वादसमेत मिठो हुने भएकाले गुइँठा प्रयोगमा कमी नआएको उहाँले बताउनुभयो ।