काठमाडौँ, वैशाख ३० गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयबाट ३ हजार १९८ जना (७६.७५ प्रतिशत) विद्यार्थी ग्रेडेड भएका छन् । परीक्षामा सहभागी ६० विद्यालयमध्ये केन्द्रीय बहिरा माध्यमिक विद्यालय, श्रम राष्ट्रिय माध्यमिक विद्यालय, बाल व्यवसायी माध्यमिक विद्यालय र बाल सेवा माध्यमिक विद्यालयले शतप्रतिशत नतिजा हासिल गरेका छन् ।
कूल ४ हजार १६७ जना विद्यार्थी सहभागीमध्ये ४ जीपीए प्राप्त गर्ने २८ जना विद्यार्थी छन् । तीमध्ये ज्ञानोदय माध्यमिक विद्यालयका २१ जना, तरुण माध्यमिक विद्यालयका १ जना, शिवपुरी माध्यमिक विद्यालयका १ जना, विश्व निकेतन माध्यमिक विद्यालयका ३ जना र रत्नराज्य माध्यमिक विद्यालयका २ जना रहेका छन् । गएको वर्ष १७ जनाले ४ जीपीए प्राप्त गरेका थिए ।
गत वर्ष ४ हजार ८५ जना परीक्षार्थीमध्ये ३ हजार १०९ जना (७६(०८ प्रतिशत) ग्रेडेड भएका थिए । यस वर्ष ८२ जना बढी विद्यार्थी परीक्षामा सहभागी भए भने ग्रेडेड हुने दर ०.६७ प्रतिशतले बढेको छ ।
यस वर्षको नतिजाअनुसार ३.६ देखि ४ जीपीए ल्याउने ५४३ जना, ३.२ देखि ३.६ जीपीए ल्याउने १ हजार ४ जना, २.८ देखि ३.२ जीपीए ल्याउने १ हजार १५३ जना, २.४ देखि २.८ जीपीए ल्याउने ४६९ जना तथा २.० देखि २.४ जीपीए ल्याउने १४ जना रहेका छन् ।
गत वर्ष सोही श्रेणीमा क्रमशः ७७४, १,१५६, ९०२, २४६ र १४ जना विद्यार्थी थिए । यस वर्ष उच्च जीपीए प्राप्त गर्ने विद्यार्थी संख्या घटे पनि मध्यम श्रेणीका विद्यार्थी बढेको देखिन्छ । गत वर्ष ९७६ जना नन–ग्रेडेड (एनजी) विद्यार्थी थिए भने यस वर्ष ९६९ जना नन–ग्रेडेड भएका छन् ।
शिक्षा विभागका शिक्षा अधिकारी नमराज ढकालका अनुसार नतिजाको सूक्ष्म विश्लेषण गरी सुधार देखिएका विद्यालयलाई प्रोत्साहन गरिनेछ भने निरन्तर कमजोर नतिजा आउने विद्यालयलाई विशेष निगरानीमा राखिनेछ ।
नतिजा सुधारका कारण र महानगरको प्रयास
शिक्षा विभागका अनुसार विद्यालयहरूको शैक्षिक गुणस्तरमा सुधार, विद्यार्थीको अध्ययनप्रतिको रुचि, शिक्षकहरूको सक्रियता तथा नतिजा सुधारका कार्यक्रमले सकारात्मक प्रभाव पारेको हो ।
शिक्षा अधिकृत केशव ज्ञवालीका अनुसार ‘पुस्तकविहीन शुक्रबार’ कार्यक्रमले विद्यार्थीको सिकाइमा महत्त्वपूर्ण योगदान गरेको छ । यस कार्यक्रमअन्तर्गत पाठ्यक्रम, सहपाठ्यक्रम र अतिरिक्त क्रियाकलापलाई एकीकृत गरी बहुआयामिक सिकाइ अभ्यास गराइएको थियो ।
महानगरले शिक्षक तालिम, स्मार्ट कक्षा विस्तार, डिजिटल शिक्षण सामग्री, तथा सिकाइ सुधारका विशेष कार्यक्रम सञ्चालन गर्दै आएको छ । शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालका अनुसार प्रधानाध्यापकका लागि व्यवस्थापकीय तालिम, शिक्षकका लागि विषयगत तालिम, डिजिटल शिक्षण अभ्यास तथा सिकाइ सुधारका कार्यक्रम नियमित रूपमा सञ्चालन गरिएका छन् ।
पछिल्लो ५ वर्षमा काठमाडौँ महानगरपालिका भित्रका सामुदायिक विद्यालयबाट प्राप्त ग्रेडमा आधारित नतिजा यस्तो छ ।
३.६ देखि ४ जीपीए ल्याउने २०७८ मा ८५ जना, २०७९ मा १५० जना, २०८० मा ५४५ जना, २०८१ मा ७७४ जना र २०८२ मा ५४३ जना रहेका छन् ।
३.२ देखि ३.६ जीपीए ल्याउने २०७८ मा ३२५ जना, २०७९ मा ४८८ जना, २०८० मा १,०५० जना, २०८१ मा १,१५६ जना र २०८२ मा १,००४ जना रहेका छन् ।
यसैगरी, २.८ देखि ३.२ जीपीए ल्याउने २०७८ मा ६९७ जना, २०७९ मा ८०९ जना, २०८० मा १०८० जना, २०८१ मा ९०२ जना र २०८२ मा १,१५३ जना रहेका छन् ।
२.४ देखि २.८ जीपीए ल्याउने २०७८ मा ९६६ जना, २०७९ मा ९८२ जना, २०८० मा ३९५ जना, २०८१ मा २४६ जना र २०८२ मा ४६९ जना रहेका छन् ।
त्यस्तै, २.० देखि २.४ जीपीए ल्याउने २०७८ मा १,००४ जना, २०७९ मा ९२३ जना, २०८० मा १६ जना, २०८१ मा १४ जना र
२०८२ मा १४ जना रहेका छन् ।
२ भन्दा कम जीपीए ल्याउने (नट ग्रेडेड) २०७८ मा ८६६ जना, २०७९ मा ५६९ जना, २०८० मा ८७७ जना, २०८१ मा ९७६ जना र २०८२ मा ९६९ जना रहेकाे महानगरले जनाएकाे छ ।