• ३० वैशाख २०८३, बुधबार

छत्रकोटलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा

blog

गुल्मीको छत्रकोट गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिँदै। तस्बिर: रमेश विश्वकर्मा

रमेश विश्वकर्मा
गुल्मी, वैशाख ३० गते।
गुल्मीको छत्रकोट गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। यहाँका छ वटै वडामा रहेका बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रम अनुसार खोप दिएसँगै गाउँपालिकाकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।

पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा निर्देशिका बमोजिम आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरिएको छ। गाउँपालिकाका छ वटै वडामा घरदैलो सर्वेक्षणमार्फत १५ देखि ५९ महिनाका ७३९ जना बालबालिकालाई खोप लगाउने कार्य सम्पन्न भएसँगै पालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।

राष्ट्रिय खोप कार्यक्रम अनुसार १५ महिनाभित्र पूरा गर्नुपर्ने सबै खोप पूरा गरेसँगै पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोख्रेलले जानकारी दिनुभयो। त्यसअवसरमा जिल्ला खोप समन्वय समितिका सचिव एवम् जनस्वास्थ्य प्रशासक पुष्पा थापाले गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेय र स्वास्थ्य शाखा प्रमुख पोखरेललाई प्रमाणीकरण पत्र प्रदान गर्नुभयो।

गाउँपालिका अध्यक्ष पाण्डेयले यहाँका छ वटै वडाका वडा अध्यक्ष र स्वास्थ्य संस्था प्रमुखहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो। कार्यक्रममा पूर्ण खोप अभियानलाई सफल बनाउन योगदान पुर्‍याउने १३ जना खोप कार्यकर्तालाई सम्मान समेत गरिएको थियो। उहाँले पूर्णखोप र पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणासम्मको अवस्थामा ल्याउन मिहिनेत गर्ने सबैलाई धन्यवाद दिनुभयो।