सुर्खेत समाचारदाता
सुर्खेत, वैशाख ३० गते । सुर्खेतको सबैभन्दा दुर्गम भूगोल मानिने चिङ्गाड गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सुरु गरिएको छ । ६ वटा वडा रहेको सो पालिकामा यही वैशाख ३१ गतेसम्म विभिन्न वडामा सो शिविर सञ्चालन हुने छ ।
चिङ्गाड गाउँपालिकाको आयोजना तथा साइनिङ अस्पताल आइएनएफ नेपाल सुर्खेतको समन्वयमा आइतबार सो गाउँपालिकाको वडा नं. ३ र ४ का लागि मेटलाबाट शिविर सुरुवात गरिएको थियो । शिविरमा अपाङ्गता भएका व्यक्तिहरूको निःशुल्क स्वास्थ्य जाँचका साथै अपाङ्गता परिचयपत्र वितरण र अपाङ्गता पहिचान तथा छनोट पनि हुने छ । शिविरको सुरुवात गर्दै चिङ्गाड गाउँपालिका अध्यक्ष बोधक्रिम जिसीले पालिकाले अपाङ्गता भएका व्यक्तिहरूका पक्षमा काम गर्न कन्जुस्याइँ नगर्ने बताउनुभयो । उहाँले दुर्गम भूगोल भएकाले अपाङ्गता भएकाहरू सेवा लिन आउन अहसज भएको बताउँदै त्यस्ता व्यक्तिहरूले पनि आफ्ना समस्या खुलस्त राख्न सुझाव दिनुभयो ।
गाउँपालिकाका उपाध्यक्ष मीनाकुमारी रोकायले अपाङ्गता भएका व्यक्तिका लागि सेवा सहज बनाउन, सहायता सामग्री लिन आइएनएफसँग समन्वय गरिएको बताउनुभयो ।
साइनिङ अस्पताल आइएनएफ नेपाल सुर्खेतका व्यवस्थापक ललितबहादुर सारूले भूगोल दुर्गम भएका कारण गाउँपालिकाको छ वटा वडाका लागि पाँच ठाउँमा शिविर राखेर सेवा दिन लागिएको बताउनुभयो । उहाँले दुर्गम हुँदा अपाङ्गता भएका व्यक्तिका लागि घरमै गएर सेवा प्रदान गरिने उल्लेख गर्नुभयो ।
राष्ट्रिय अपाङ्ग महासङ्घ कर्णाली प्रदेशका कार्यालय प्रमुख आनन्द विष्टले अपाङ्गता भएका व्यक्तिले बढी विभेद भोग्नु परेको उल्लेख गर्दै उनीहरूलाई दयाभन्दा पनि आवश्यक सहायता सामग्री उपलब्ध गराउनुपर्ने बताउनुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिलाई मूल प्रवाहीकरणमा ल्याउनका लागि सरकारी, विकास साझेदार तथा सबै पक्षले समन्वय गरेर लाग्नुपर्ने औँल्याउनुभयो ।
आइतबार सो शिविरमा २२ जनाले सेवा लिएका छन् भने सोमबार वडा नं. २ को रानीवासमा भएको शिविरमा २० जनाले सेवा लिएका छन् ।