तनहुँ समाचारदानता
तनहुँ, वैशाख ३० गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा तनहुँको व्यास नगरपालिका–१०, डिहीगाउँकी सीमान्त कुसुन्डाले सफलता हासिल गरेकी छिन् । लोपोन्मुख कुसुन्डा समुदायकी एक मात्र प्रतिनिधि सीमान्तले दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयबाट २.९६ जिपिए (बी प्लस ग्रेड) प्राप्त गरी उत्तीर्ण भएकी हुन् ।
सीमान्तको नतिजाका बारेमा सत्यवती माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद पौडेलले जानकारी दिँदै लोपोन्मुख र सीमान्तकृत समुदायकी छात्राले शैक्षिक रूपमा हासिल गरेको यो सफलता प्रशंसनीय रहेको बताउनुभयो । पौडेलका अनुसार विद्यालयबाट यस वर्ष कुल ३१३ विद्यार्थी एसइई परीक्षामा सहभागी भएकोमा ९० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । चार जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या चार रहेको छ भने ३.९६ जिपिए ल्याउने एक जना र ३.९५ जिपिए ल्याउने चार जना विद्यार्थी रहेका छन् ।
सीमान्तकी आमा इन्द्रमाया कुसुन्डाले छोरीले एसइई उत्तीर्ण गरेकोमा निकै खुसी व्यक्त गर्नुभएको छ । २०७५ वैशाख ५ गते श्रीमान् राजामामा कुसुन्डाको निधन भएपछि इन्द्रमायाले एक्लै छोरीको पालनपोषण र शिक्षाको जिम्मेवारी समाल्दै आउनुभएको छ । इन्द्रमायाले भन्नुभयो, “घरको आर्थिक अवस्था निकै कठिन छ तर छोरीले पढेर उत्तीर्ण भएको देख्दा सबै दुःख बिर्सिएकी छु ।”
तनहुँमा अहिले इन्द्रमाया र सीमान्तको एक घरपरिवार मात्र कुसुन्डा जातिको अस्तित्वमा छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले २०६१ पुस ७ गते राजामामाको विवाह इन्द्रमाया तामाङसँग गराइदिएपछि उनीहरूलाई डिहीगाउँमा आवासको व्यवस्था मिलाइएको थियो । इन्द्रमाया र सीमान्तले लोपोन्मुख जातिका रूपमा मासिक दुई हजार रुपियाँ सामाजिक सुरक्षा भत्ता पाउने
गरेका छन् । श्रीमान्को निधनपछि आम्दानीको अन्य स्रोत नहुँदा इन्द्रमायालाई घर चलाउन र छोरीको उच्च शिक्षा अगाडि बढाउन आर्थिक अभाव हुने चिन्ताले सताएको छ । जङ्गलमा फिरन्ते जीवन बिताउने पुख्र्यौली पहिचान भएको यो समुदायलाई लोप हुनबाट जोगाउन सामाजिक जीवनमा ल्याइएको छ ।